कंचनपुर : कंचनपुरको बेलौरी नगरपालिका-५ सोभातालकी एक महिलाको आगोले जलेर मृत्यु भयो। गत शुक्रबार २५ वर्षीया गिता चौधरीको खाना पकाउने बेला आगोले जलेर मृत्यु भएको हो। चौधरीको घरमा खाना पलाउने बेला दाउराको आगोले पोलिए पछि घाइते अवस्थामा उनलाई सेती प्रादेशिक अस्पताल लगिएको थियो।
उनको अवस्था थप जटिल देखिएपछि चिकित्सकले उनलाई काठमाडौ लैजान सुझाएका थिए। तर काठमाडौ लैजाने क्रममा उनको बाटोमा मृत्यु भयो। परिवारका अनुसार खाना पकाउनको लागी दाउरामा मट्टीतेल छर्कदा आगो शरीरमा लागेको बताएका छन्। परिवारका सदस्यहरुले जानकारी दिएपनि घटना रहस्यमय रहेको जिल्ला प्रहरी कार्यालय बेलौरिका प्रहरी निरीक्षक दान सिंह भण्डारीले बताए।
‘आगलागी दुर्घटना हो वा योजनाबद्ध अहिले अनुसन्धानको क्रममा रहेको हुँदा स्पष्ट भन्न सकिदैन, भण्डारीले भने, ‘घटना हुँदा परिवारका सदस्य कहाँ थिए, बचावको प्रयास गरियो कि गरिएन, मट्टीतेल कति मात्रामा प्रयोग गरिएको थियो, यावत प्रश्नहरुको अनुसन्धानको क्रममा छौ।’ घटना शंकास्पद रहेको र थप अनुसन्धान भइरहेको प्रहरिले बताएको छ। हाल चौधरीको सेती प्रादेशिक अस्पतालमा पोस्टमार्टम भइरहेको निरीक्षक भण्डारीले बताएका छन्।