कञ्चनपुर फोटो पत्रकार हरिशजंग क्षेत्रीलाई राष्ट्रिय फोटोपत्रकारिता अवार्ड

काठमाडौं : बाह्रखरीका फोटो पत्रकार हरिशजंग क्षेत्रीलाई ‘राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२२’ प्रदान गरिएको छ । राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनफएपिजे)ले आफ्नो स्थापनाको २५औं वर्षगाँठको रजत जयन्तीका अवसरमा क्षेत्रीलाई ‘कृषि विकास बैंक खेलकुद फोटोपत्रकारीता अवार्ड’ प्रदान गरेको हो । पुर्ख्यौली घर दार्चुला भएका हरिश सिंह नगाल मिडियामा भने हरिशजंग क्षेत्रीका नामले परिचीत छन् । स्थाई घर कञ्चनपुरको बेलडाँडी गाउँपालिका-१ झरनासागर भएपनी उनी हाल काठमाडौंमा बसेर फोटो पत्रकारिता गर्दै आएका छन् । कञ्चनपुरको महेन्द्रनगरबाट प्रकाशित हुने नयाँ जनक्रान्ती दैनिकबाट करिब डेढ दसक अघि पत्रकारिता क्षेत्रमा लागेका क्षेत्री अहिले बाह्रखरी डटकममा फोटो पत्रकारका रूपमा आवद्ध छन् ।

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड -२०२२ मा दुई विधाना मनोनीत भएपनी क्षेत्रीले खेलकुद फोटो पत्रकारिता तर्फको अवार्ड हात पार्न सफल भएका हुन । ‘कृषि विकास बैंक खेलकुद फोटोपत्रकारीता अवार्ड’ को उत्कृष्ट ५ मा विक्रम कुमार बाँनीया, हरिसजंग क्षेत्री, प्रेम थापा, एस के शर्मा र सरोज चाम्लीङ मनोनयनमा परेकोमा हरिशजंग क्षेत्रीले अवार्ड हात पारेका थिए । त्यसैगरी ‘नेपाल टेलीकम दैनिक जीवन फोटोपत्रकारिता अवार्ड’बाट आर्थिक अभियान दैनिकका सुनिल शर्माले अवार्ड हात पार्दा पञ्चकन्या ग्रुप महिला फोटोपत्रकारिता विधामा सबैखबरकी अनन्ता भण्डारीले अवार्ड हात पारिन । भने राष्ट्रिय वाणिज्य बैंक स्वतन्त्र फोटोपत्रकारिताको अवार्ड फ्रीलाइन्सर दिपेन्द्र महर्जनले हात पारेका थिए । त्यस्तै ग्लोवल आइएमई बैंक आर्थिक फोटोपत्रकारिता अवार्डका अन्नपूर्ण दैनिकका अशोक दुलालले प्राप्त गर्दा एनआईसी एशिया बैंक पर्यटन तथा संस्कृति फोटोपत्रकारिता अवार्डको सिन्ह्वा न्युज एजेन्सीका हरि महर्जनले पाए ।

सनराइज बैंक राजनैतिक फोटोपत्रकारिता अवार्ड सेतो पाटी अनलाइनका फोटोपत्रकार नविन वावु गुरुङले हात पारेका छन् । त्यसैगरी प्रदेश तर्फको अवार्डमा सुदुरपश्चिम प्रदेशका अवार्ड राससका बिनोदबाबु बिष्टले प्राप्त गर्दा कर्णाली प्रदेश तर्फको अवार्ड कान्तिपुर दैनिकका वसन्त प्रताप सिंहले, प्रदेश नम्बर -१ अवार्ड गुरु ढकालले, मधेस प्रदेशको अवार्ड नेपाली पब्लिकका जियालाल प्रसाद साहले प्राप्त गर्दा, बागमती प्रदेशको अवार्ड गुराँसमिडिया गृहका सन्तोष श्रेष्ठले पाए । भने गण्डकी प्रदेशको अवार्ड परिचय डटकमका प्रेम थापाले पाए । लुम्बिनी प्रदेशको अवार्ड कान्तिपुरका मनोज पौडेलले प्राप्त गरेका थिए । अवार्ड नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) र युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले प्रदान गरेका थिए ।

राष्ट्रिय फोटो पत्रकार समुहले देशभरका फोटोपत्रकारहरुको फोटो संकलन गरी उनीहरुको उत्कृष्ट फोटो मुल्याङ्कन गर्दै सात प्रदेश सहित विभिन्न १४ विधाका उत्कृष्ट फोटोपत्रकारहरुलाई राष्ट्रिय फोटोपत्रकारिता अवार्डबाट सम्मानित गरिएको थियोे । राष्ट्रिय फोटो पत्रकार समुहको रजत जयन्तीको अवसरमा फोटो पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका २५ जना पुराना वरिष्ठ फोटो पत्रकारहरुलाई सम्मान समेत गरिएको थियोे ।

ताजा समाचार