राजेन्द्रप्रसाद पनेरू/कञ्चनपुर : तराईका कैलाली र कञ्चनपुरमा मात्रै पाईने नकटा हाँस संकटापन्न अबस्थामा पुगेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्रका कालिकिच, सिकारी ताल संगै निकुञ्ज बाहिरका पुरैनी, सोभा लगायतका ताल क्षेत्र आसपासका क्षेत्रमा नकटा हाँस पाईने गरिन्छ । कैलालीको घोडाघोडी लगायतका ताल आसपासका क्षेत्रमा यस हाँसको बास स्थान रहेको छ । यसको सङख्यामा केही समय यता देखि कमी आएको छ । ताल तलैयाहरु मानव अतिक्रमणको चपेटामा पर्नु र स्थानिय बासिन्दाले शिकार गर्ने गरेका कारण समेत यो हाँसको सङख्यामा कमी आउन थालेको हो ।
संकटापन्न अबस्थामा रहेको नकटा हाँस जोगाउनका लागि स्थानिय बासिन्दालाई जैविक विविधता संरक्षण संगै चरा संरक्षण सम्बन्धी कार्यक्रम सञ्चालन गरी सचेत पार्नु पर्ने चरा संरक्षणको कार्यमा संलग्न सुमन चौधरीले बताउनु भयो ।
“निकुञ्ज आसपासका ताल तलैया क्षेत्रमा मात्रै नकटा हाँस देखिने गरेको थियो” उहाँले भन्नु भयो, “हाल यस प्रजातीको हाँस घना बस्ती नजिकका ताल तलैयामा समेत देखिन थालेको छ । यसको संरक्षण गर्नु जरुरी रहेको छ ।” बेलौरी नगरपालिकाको सोभा ताल क्षेत्रमा पाँच बढीको सङख्यामा नकटा हाँस पहिलो पटक देखा परेको उहाँले बताउनु भयो । नेपाल पंक्षी संरक्षण संघका चरा विज्ञ हिरुलाल डगौराका अनुसार नकटा हाँस नेपालको रैथाने प्रजातीका सबै भन्दा ठुलो प्रजातीको हाँस हो । यस हाँसले वर्षातको समय शुरु भए संगै बच्चा कोरल्ने गर्दछ । रुखको टोड्का, अरु चराले छाडेका गुड, ठुलो घाँसको झाडीमा अण्डा पार्ने गर्दछ । पोथीले एक पटकमा १० देखि १५ सम्म अण्डा पार्ने गर्दछ । अण्डा पारेको २५ देखि ३० दिनमा बच्चा कोर्लने गर्दछ ।
नकटा हाँस काला छिर्कापूणर् सेतो सेतो टाउको र सेतो सेतो तल्लो भागहरु साथै अपूणर् साँधुरो छातीपेटी हुने गर्दछ । माथिल्लो र तल्लो पखेटा कालो हुन्छ । भालेको कालोकालो माथिल्लो भागमा टल्कने ढलौटे हरियो , निलो र हरियो रङगको हुन्छ । ठोंडको फेदमा पुष्ट सिउर साथै ग्रिष्ममा टाउको छेउ र गर्दनमा पहेलो पहेलो मैलो बगेको जस्तो देखिने हुन्छ । हिउदमा सिउर सानो पोथी साना नापको माथिल्लो भाग बढी धमिलो हुन्छ । सिउर नभएको बच्चाको गाढा तालु र आँखीधर्सोभन्दा भिन्न देखिने फिक्का आँखिभौं माथिल्लो भागमा मैला कत्ला र कैलोमैलो तल्लो भाग साथै छातीको छेउमा गाढा कत्ला हुन्छन । सिमसार तथा जलसिंचित घाँसे मैदानमा चर्ने र छिपछिपे पानीमा खेल्ने गर्दछ । धेरै जलिय बनस्पती भएका जंगल भित्रका ताल तलैयामा यो बढी बस्न रुचाउने गर्दछ । रैथाने प्रजातीको यस हाँसलाई नेपालमा संकटापन्नको सूचिमा सूचिकृत गरिएको छ । “यस हाँसको स्वभाव अरु भन्दा भिन्न हुने गर्दछ” चरा विज्ञ डगौराले भन्नु भयो, “यो हाँस अरु हाँसका झुण्डमा मिसिएर बस्ने गरेको पनि पाईएको छ ।”
“यस हाँसको सङख्या थोरै मात्र छ । त्यसैले संकटमा छ” उहाँले भन्नु भयो, “केही दिन अघि कैलालीका ताल तलैयामा गरिएको सर्भेक्षणमा यसको सङख्या ४५ मात्रै रहेको पाईएको छ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र त्यसको आसपासका ताल तलैया क्षेत्रमा यसको सङख्या ६० को हाराहारीमा रहेको रहेको अनुमान गरेका छौं ।” यस हाँसले आहाराका रुपमा किरा फटयाङग्रा, माछा, जलिय बनस्पतीलाई ग्रहण गर्दछ । अंग्रेजीमा यसलाई कम्ब डक भनेर चिनिन्छ । नकटा हाँस संकटापन्न अबस्थामा रहेकाले यसको संरक्षणमा सबैले चासो दिनु पर्ने चरा विज्ञ डगौराको भनाई रहेको छ । “सुदूर तराईका दुई जिल्लाको रैथाने मध्येको ठुलो प्रजातीको हाँस नकटा भएकाले यसको संरक्षण संगै बासस्थान सुरक्षित बनाउन सके मात्रै यसलाई जोगाउन सकिन्छ” उहाँले भन्नु भयो ।






