बडिकेदार गाउँपालिकामा पदाधिकारीहरुले नै फर्जी बिल भर्पाइ बनाएर काम गर्न कर्मचारीलाई दवाब


महेन्द्रनगर : डोटीको बडिकेदार गाउँपालिकामा जिम्मेबार पदाधिकारीहरुले नै फर्जी बिल भर्पाइ बनाएर काम गर्न कर्मचारीहरुलाई दवाब दिने गरेको पाईएको छ । नियम विपरीत काम गर्न कर्मचारीलाई दबाद दिने गरेको कुरा बाहिरिएको छ । गत मंगलबार मात्रै गाउँपालिकामा कार्यरत कर्मचारीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै जिम्मेवार पदाधिकारीबाट नै असुरक्षित भएको बताएपछि बडिकेदार गाउँपालिकाको मूल कुरो बाहिरिएको हो । विज्ञप्तीमा जिम्मेवार पदाधिकारी कार्यकक्षमा आएर गाली बेइज्जती गर्ने, धम्क्याउने, असान्दर्भिक विषय उठाई आफ्नो स्वार्थपूर्तिका लागि गलत काम गर्न लगाउने र कानुन सम्मत गर्न नमिल्ने काम समेत गर्न दबाब दिने गरेको बताइएको छ ।

जिम्मेबार पदाधिकारीबाटै फर्जी बिल भर्पाइ बनाई भुक्तानी लिन कर्मचारीलाई दबाब दिँदै आएका छन् । कर्मचारीले कानुन बमोजिम प्रक्रिया पुगेका बाहेकका अन्य विल भर्पाइको भुक्तानी नहुने भनेपछि जिम्मेबार पदाधिकारीहरुले नै कर्मचारीलाई गाली गलौच गर्नुका साथै विभिन्न मुद्दामा फसाइदिने भन्दै धम्की दिने गरेका हुन् । कर्मचारीप्रति गरिएको गाली वेइज्जती तथा धम्कीपछि गाउँपालिकाका कर्मचारीले संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरेका थिए । सोही विषयलाई लिएर स्थानीय तह कर्मचारी हकहित मञ्च केन्द्रीय समन्वय समिति काठमाडौं, नेपाल निजामती कर्मचारी युनियन सुदूरपश्चिम प्रदेश कार्यसमिति, नेपाल निजामती कर्मचारी यूनियन जिल्ला कार्यसमिति डोटी, स्थानीय तह कर्मचारी हकहित मञ्च सुदूरपश्चिम प्रदेश समितिले छुट्टा छुट्टै विज्ञप्ति जारी गरेर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

स्थानीय तह कर्मचारी हकहित मञ्च केन्द्रीय समन्वय समिति काठमाडौंका संयोजक वेदराज अधिकारी र सचिव वीरबहादुर बिष्टद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा राष्ट्रसेवक कर्मचारीलाई धाकधम्की र दुव्र्यवहार गरी आफ्नो व्यक्तिगत स्वार्थ सिद्ध गर्न खोज्नु प्रचलित कानुनको बर्खिलाप हुन गएको उल्लेख छ । कानुनको पालना गर्ने क्रममा कर्मचारीमाथि हुने यस्ता खालका दुस्कार्यले सेवा प्रवाह समेत प्रभावित हुने गरेको ध्यानाकर्षण पत्रमा उल्लेख गर्दै भनिएको छ –‘कानुनको पालना गरौ भन्दा तथानाम गाली गलौच गरी वेइज्जती गर्ने र ज्यान मार्ने धम्की दिने अराजक पदाधिकारीलाई कानुन बमोजिम कारबाहीको माग गर्दछौँ ।’ पारदर्शिता, जवाफदेहिता र निष्पक्षता कायम गर्ने शिलशिलामा एउटै कार्यालयमा काम गर्ने पदाधिकारीबाट यस्ता खालका घृणित कुकार्यले कर्मचारीको मनोबल कमजोर हुने र कार्य वातावरणमा समेत प्रभावित हुने गरेका कारण त्यस्ता कुकृत्य गर्ने दोषीलाई कानुनको कठघेरामा ल्याएर कर्मचारीलाई स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण सिर्जना गराउनका लागि ध्यानाकर्षण पत्रमार्फत माग गरिएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img