कञ्चनपुर : अपाङ्गता एकता समाज नेपालको बिहीवार कञ्चनपुरको झलारीमा चौथो बार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन सम्पन्न भएको छ । समाजको साधारण सभामा बोल्दै समाजका अध्यक्ष हरिदत्त भट्टले संस्थाले निरन्तर रुपमा अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि वकालत गर्दै आएको बताउनु भयो । शहरी क्षेत्रमा अपाङ्गता सम्बन्धी कार्य गर्ने धेरै संस्था भएपनि ग्रामीण क्षेत्रमा काम गर्ने संस्था थिएन त्यसैले संस्था विधिवत रुपमा दर्ता गरी कार्य अगाडी बढाउदै आएका बताउनु भयो । अधिकारका लागि आफैले अघि सर्नु पर्छ उहाँले भन्नु भयो, बच्चा रोए पछि मात्रै आमाले दुध खुवाए झै अधिकारका लागि अगाडी नसर्दा कसैले पनि नहेर्ने भएकाले सबैले सजग हुनु पर्छ । अपाङ्गता भएका व्यक्तिहरुका लागि कागजमा कानुन बनेपनि व्यहारमा कार्यान्वयन नभएको उहाँको भनाई थियो ।

कार्यक्रममा अतिथिका रुपमा जनप्रतिनिधिहरुलाई बोलाउदा समेत अपहेलना गरी अपाङ्ग भएका व्यक्तिहरुलाई उपेक्षा गरिएको उहाँले बताउनु भयो । साधारण सभामा समाजका कोषाध्यक्ष कृष्ण थापाले बार्षिक प्रगति प्रतिवेदन पेश गर्दै संस्थाले अपाङ्गता भएका व्यक्तिहरुको आय आर्जनमा बृद्धि गर्नका लागि केरा खेती, बंगुर र बाख्रापालनका लागि सहयोग उपलव्ध गराईएको बताउनु भयो । दातृ संस्थाको सहयोगमा अपाङ्गता भएका ११५ जनालाई तीन वर्षको अवधिमा सहायक सामग्री उपलव्ध गराईएको उहाँले जानकारी दिनु भयो । कार्यक्रममा सहभागीहरुले अपाङ्गता भएका व्यक्तिहरुले नगरपालिका क्षेत्रकाट अपाङ्गता भएका व्यक्तिहरुका लागि कुनै पनि कार्यक्रम सञ्चालन नहुदा असन्तुष्टि पोख्नु भएको छ । परिचय पत्र बनाउदा समेत सम्बन्धीत शाखाका कर्मचारीले निकै सास्ती दिने गरेको कार्यक्रमका सहभागीहरुको भनाई थियो । साधारण सभाको सञ्चालन समाजका सचिव कालिप्रसाद चौधरीले गर्नु भएको थियो ।







