डोटी: मानवीय सेवामा अनेकौ प्रयास (साईन नेपाल)नामक संस्थाले डोटीको पुर्वी चौकीका कृषक समुहहरुलाई कृषिमा आधुनिकरण गर्न मिनि थ्रेसर सहयोग गरेको छ । मंगलबार पुर्वीचौकी गाउँपालिका-४ वडा कार्यालयको प्राङ्गणमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै १२ वटा कृषक समुहहरुलाई प्रती समूह एक मिनि थ्रेसर सहयोग गरेको हो ।

कार्यक्रमको प्रमुख अतिथी रहनुभएका वडाध्यक्ष नवराज खड्काले संस्थालाई धन्यवाद व्यक्त गर्नुहुदै थ्रेसर प्राप्त गर्ने कृषक समुहहरुलाई यी साधनहरुले सोचे भन्दा बढी लाभ लिने र सदुपयोग गर्ने कुरामा पुर्ण आशा र बिश्वास लिएको बताउनुभयो । पहाडी क्षेत्रका बस्तीहरुमा धान, गहुँ र कोदो चुट्दा महिलाहरुलाई हुँदै आएको कठिनाइको सामना गर्न संस्थाले केयर एण्ड रिलिफ परियोजना अन्तर्गत मिनि थ्रेसर वितरण गरेको संस्थाका अध्यक्ष भक्तराज जोशीले बताउनुभयो । पालिकाका कृषकलाई कृषिमा आधुनिककरण तर्फ उन्मुख गराउन १० लाख ७५ हजार बराबरको मिनि थ्रेसर वितरण गरेको संस्थाका कोषाध्यक्ष मेघराज भट्टले जानकारी दिनुभयो ।

संस्थाले सुदुरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पालिकाहरुमा शिक्षा, स्वास्थ्य, आय-आर्जन, कृषि र आपतकालिन क्षेत्रमा निरन्तर जनता माझ प्रत्यक्ष गएर कार्यक्रम गर्दै आएको छ । संस्थाका अध्यक्ष भक्तराज जोशीको सभाध्यक्ष तथा पुर्वीचौकी गाउँपालिका-४ का वडाध्यक्ष नवराज खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन वडा नम्बर ३ का वडा सदस्य नरबहादुर थापाले गर्नुभएको थियो ।







