महेन्द्रनगर : सार्वजनिक पशुचौपायाको उपचारमा समस्या भएको छ ।सुरक्षित उपचार केन्द्रको अभाव हुदा सार्वजनिक पशुचौपायाको उपचारमा समस्या आएको हो ।विगत दुई बर्षदेखि सार्वजनिक पशुचौयाको उपचार गर्दै आएका भीमदत्त नगरपालिका–४ भगतपुरका उत्तम बहादुर बमले सुरक्षित उपचार केन्द्रको अभाव हुदा सार्वजनिक पशुचौपायाको उपचारमा समस्या भएको बताए । उनले बजार क्षेत्रका विरामी परेका तथा दुर्घट्नामा परी चोटपटक लागेका पशुचौपाया संख्या बढ्दै गएको तर पायक पर्ने ठाँउमा सुरक्षित बासस्थान र उपचार स्थल नहुदा उद्धारमा समेत समस्या भएको बताए । ‘मैले भेटनरी अस्पतालको सहयोगमा सार्वजनिक पशुचौपायाको उपचार गर्दै आएता पनि उनीहरुलाई स्याहार सुसार गर्नका लागि पायक पर्ने सुरक्षित स्थानको अभाव छ’, सार्वजनिक चौपाया संरक्षक बमले भने ‘यदि सरकारले बजार एरियामा सुरक्षित स्थानको व्यवस्था गरिदिए उपचारमा सहता हुनुका साथै घाईते विरामी चौपायाहरुलाई स्याहार गर्नको लागि सजिलो हुने थियो ।’

उनले विरामी र चोटपटक लागेका गाई गोरुलाई उपचार गरी उनिहरुको उचित संरक्षण गरेबजारमा हुने सडक दुर्घट्नामा कमि आउनुका साथै किसान भोग्दै आएको समस्यमा निराकरण हुने समेत बताए । ‘यदि विरामी र चोटपटक लागेका पशुचौपायको समयमै उपचार गरी उनीहरुलाई आहार व्यहारको व्यवस्था भए उनीहरुका कारण हुने सवारी दुर्घट्नामा पनि कमि आउथ्यो’, उनले भने ‘तर त्यसका लागि सरकारले पायक पर्ने स्थानमा सुरक्षित गौ संरक्षण उपचार केन्द्रको स्थापना गरिदिए अन्य व्यवस्थापन म गर्ने थिए ।’ बमले पशु तथा भेटनरी अस्पतालको सहयोगमा गएको महिनामा मात्रै गुप्तांगमा टुमरको समस्या भएको गोरु र सवारी दुर्घट्नामा परि पछाडीका खुट्टा काम नगर्ने दुई गाईको उपचार गराईरहेका छन । भने एउटा आखामा ठुलो चोटपटक लागेको बाच्छिको आफ्नै लगानीमा उपचार गराएका छन ।

दुई बर्षदेखि भीमदत्त नगरपालिकाको बजार क्षेत्रका विरामी परेका, घाईते भएका पशुचौपायाको उपचार गर्दै आएका बमले गौ संरक्षण उपचार केन्द्र स्थापनाकालागि विभिन्न सरोकार निकायमा धाउदौ आएका छन । तर पनि सबै निकायबाट आश्वासनमात्रै पाईने गरेको उनले बताए । कञ्चनपुर जिल्लामा सार्वजनिक पशुचौपायाहरुको समस्या विकराल हुदै गएको छ । स्थानियहरु जिम्मेवार नवन्दा जिल्लाका ९ ओटै स्थानिय तहलाई सार्वजनिक पशुचौपायाको व्यवस्थापनमा चुनौती थपिदै गएको हो । स्थानियहरु गाईको दुध चाहि खाने तर गाईलाई पाल्ने जिम्मेवारीबाट पन्छिएर गाईलाई सडकमा छोड्ने प्रबृति बढेको छ । सार्वजनिक पशुचौपायको कारण बजार क्षेत्रमा सवारी दुर्घट्ना घट्नुका साथै किसानहरुले सास्ती खेप्नु परेको छ ।







