किसान नेता भीम दत्त पन्त, बलदेव राम र तुलसीलाल आमत्य स्मृति दिवश

Open photo

जीवनका धेरै कुराहरु अनिश्चित छन्, तर मृत्यु निश्चित छ । मृत्युको कारण जीवनको महत्व भएको हो । यसअर्थमा मृत्यु स्वभाविक हो, यसलाई टार्न सकिदैन । मान्छेले जीवनमा गरेका कर्मका कारण मृत्युपछि पनि सम्झिरहने कारण बन्छ । त्यसैले मान्छे कति लामो आयु बाँच्यो भन्नु भन्दा उसले बाँचुन्जेल कस्तो कर्म गर्यो भन्ने कुराले खास अर्थ राख्दछ । आफ्नो जीवनभर किसानहरुको अधिकारका लागि संघर्ष गरेका भीमदत्त पन्त, तुलसीलाल अमात्य र बलदेव रामको मृत्युको मिति मिलेको छ । किसान हक हितका लागि संघर्ष गरेका भीमदत्त पन्त, तुलसीलाल अमात्य र बलदेव रामलाई साउन १७ गते बार्षिक तिथिमा उनीहरुलाई प्रत्येक बर्ष सम्झनु महत्वपूर्ण हुन्छ ।

सुदुरपरिश्चममा सामन्त बिरुद्ध ‘कित जोत हलो, कित छोड थलो, हैन भने अब छैन भलो’ क्रान्तिकारी नारासहितको किसान आन्दोलनको नेतृत्व भीमदत्त पन्तले गरेका थिए । जाली तमसुक च्यात्ने, जमिन्दारको भकारी फोर्ने, ‘रे नै जी कहो’ आन्दोलनमा तुलसीलाल अमात्यले महत्वपूर्ण भूमिका खेलेका थिए । २०६१ सालमा राष्ट्रिय भूमि अधिकार मञ्चको पहिलो सम्मेलनबाट बलदेव राम संस्थापक अध्यक्ष भएर भूमि तथा कृषि अधिकार आन्दोलनलाई देशभर फैलाउने, सिराहा र सप्तरीमा दलितमध्येको चमार समुदायले बाध्य भएर सिनो बहिष्कार आन्दोलन गरेका थिए ।

को थिए ? भीम दत्त पन्त :
डडेल्धुराको कारीगाउँमा १९८३ मंसिर १० गते जन्मेका भीम दत्त पन्त, आमा सरस्वती पन्त र बुवा तारनाथ पन्तको सुपुत्र हुन । उत्तरप्रदेश भारतको सिंहाईबाट संस्कृत बिषयमा हाईस्कुल सम्मको अध्ययन गरेका पन्तलाई गीता र माक्र्सवादको राम्रो ज्ञान थियो । यसले नै उनमा राजनीतिक स्वभाव बढायो । सामन्ती संस्कारका बिरुद्ध आफ्नै घरबाट बिद्रोह गर्ने ब्यक्ति पनि भीम दत्त पन्त नै थिए ।

कसरी आन्दोलनको शुरुवात गरे ?
अन्याय, सामाजिक भेदभाव, सहन नसक्ने भीम दत्त पन्तले २००७ सालदेखि आन्दोलनको शुरुवात गरे । त्यस बेला उनलाइ भीम दत्त काँग्रेस भन्ने गरिन्थ्यो । अन्याय गर्नेलाइ दण्ड सजाय दिने हुनाले ठालुहरु डराउँथे । कसैलाइ भीम दत्त पन्तले कारवाही गरेको थाहा पाइएमा फलानोको घरमा काँग्रेस पस्यो भनी गाउँमा सन्देश फैलिन्थ्यो । कसैसित धेरै रिसाएर गाली गर्यो भने तेरो घरमा काँग्रेस पसोस भन्ने पनि चलन थियो । गरीब, दलित, जनजाती, किशानहरुलाई संगठीत गरि राणा बिरोधी आन्दोलनमा समेत भीम दत्त पन्तको ठूलो भूमिका रह्यो । तर २००७ सालको राजनीतिक परिवर्तनपछि काँग्रेसले गरेको ब्यावहार उनलाई मन परेन । उनले क्रान्ति पुरा भएको छैन, भनी राणासित मिलेर बनाएको सरकारको बिरोध गरे । परिवर्तनको पक्षमा स्पष्ट अडान भएका भीम दत्त पन्तले दलित, मगर र थारुहरु संगठीत गरि मुक्ति सेना गठन गरे । नेपालगञ्जका गौरीलाल र रुपसिंह दुइ जना सेनाका कमान्डर थिए । दक्षिण भारत पञ्जावका एक जना विद्वान कृष्ण स्वामी एंगर योजनाकार थिए । गर्बु थारु र लवरा थारु मन्त्री थिए ।

भान्सामा दलितहरुलाई सहभागि गराउन थाले । किशानहरुलाई बेदखल गर्ने, उनीहरुको नाममा जाली तमसुख बनाउने, श्रमशोषण गर्ने ठालुहरुलाई कारवाही गर्न थाले । उनीहरुलाई दलितको भान्सामा खाना खान लगाउँथे । यस ब्यावहारबाट कुडिएका ठालुहरु उनलाई पागल भन्थे । पछि भीम दत्त आफै पनि ठालुहरुलाई परिचय दिंदा पागल पन्त भन्ने गर्थे ।
काँग्रेससित बैचारिक भिन्तता आएपछि उनले अभिवादन गर्दा जय नेपाल भन्न छोडेर जय जनता भन्न थाले । केही ठाउँमा जय नेपाल भन्नेलाई कारवाही पनि गरेका थिए । उनले भन्ने गर्थे, म अहिले जे गर्दैछु, भोली यस्तै हुन्छ । त्यसैले आजैदेखि अन्याय, अत्याचार छोड्नुपर्छ । उनको क्रान्ति बिरोध गर्ने र कारवाही गर्नेमा मात्र सिमित थिएन । गरीबहरु संगठीत हुनुपर्छ । अन्न खेर फाल्नु हुँदैन । उत्पादन बढाउनुपर्छ । अनावश्यक खर्च घटाउनु पर्छ । प्रकृति बिग्रने काम गर्नु हुँदैन जस्ता कुरामा पनि सचेतना अभियान चलाएका थिए ।

कस्तो दुःख भोगे भीम दत्तले ?
क्रान्तिमा लागेकाले भीम दत्त पन्त घरको काममा समय दिन सक्दैनथे । गाउँका ठालुहरु सबै बिरोधी थिए । घरको जिम्मेवारी धर्मपत्नि पार्वती पन्तकै हुन्थ्यो । नावालक दुइ छोरा थिए । बिरामी पर्दा उपचार गर्न नसकेर ५ वर्षको उमेरमा जेठो र अढाइ वर्षको उमेरमा कान्छो छोराको मृत्यु भयो । त्यस पश्चात पनि घरको प्रवाह नगरी क्र्रान्तिमै लागि रहे ।
दुबै छोराको मृत्युपछि पार्वती पन्तको आग्रहमा महता क्षेत्रीको छोरीसित अर्को बिवाह गरे । कान्छी श्रमितिबाट छोरी जन्मिईन । उनको पनि ७।८ वर्षकै हुँदा मृत्यु भयो । छोरीको मृत्युपछि कान्छि श्रीमतिले अर्को बिवाह गरिन । भीम दत्तका बिरोधी र पारिवारिक समस्या बढ्दै गए तर क्रान्तिबाट बिचलित भएनन । उनले गरीबको पक्षमा बोलेको र दलितको घरमा खाएको कसैलाई पनि मन परेको थिएन । यहीबेला अन्याय बिरुद्ध संगठीत भई लड्ने उद्घोषका साथ २००९ बैशाख २ गते डडेल्धुराको घटालथानमा भेला बोलाए । गाउँका ठूला ठालुहरुलाइ अनिवार्य उपस्थित हुन उर्दि जारी गरे । सबैलाई जय दाशको हातको पानी खान लगाए ।

भीम दत्तले गरेको आन्दोलन :
गरीबहरुलाइ संगठीत गर्न भीम दत्त गााउँ भ्रमण गर्न जान्थे । सुदुरपश्चिम र मध्यपश्चिमका अधिकाँश जिल्लाहरुमा भ्रमण गर्दा गरीबहरुले नुन समेत खान नपाएको थाहा पाएर नुन आन्दोलनको घोषणा गरे । कञ्चनपुरको ब्रहमदेवमा भएको गाोदामबाट गरीबहरुलाइ नुन, कपडा, बितरण गरे । यस घटनाका दिन गरीबहरुको ठूलो जनमासले भीम दत्त पन्तको स्वागत गरी भीम दत्त पन्त जिन्दावाद भनी नाराबाजी गरे । यहीबेला गड्डाचौकी भन्सारमा उनलाई समातियो र हातखुट्टा बाँधेर नेपालगञ्ज पुर्याइयो । भागेर ज्यान बचाइ कञ्चनपुर आए । धर्मसिंह डिट्ठालाइ बोरीमा बाँधेर महाकालीमा फाले । जोगराज सुबेदारलाइ बोरीमा बाँधेर फाल्न लाग्दा उनको श्रीमतिले बाटोमा गएर बचाइन । काली गोरी महिला बेचेको कर उठाएर खाने जयदेव सुब्बालाइ पनि बोरीमा बाँधेर महाकालीमा फाल्ने योजना थियो । गााउँलेहरुले थाहा पाएर बिहान महिलाको पहिरनमा पानी लिन गएको बहाना गरी महाकाली पारी पठाएकाले ज्यान जोगियो ।

त्यहाँबाट डडेल्धुरा फर्केर आफ्नो बुवालाइ तपाइ पनि सामन्त हो भनी घरमा भएका तमसुखहरु च्याते । बिष्टहरुको घरमा भएका तमसुखहरु संकलन गरी बोरीमा हालेर जलाइदिए । मालअड्डामा भएका मूठहरु जलाइ दिए । त्यसपछि बडाहाकिम मोहन बहादुर सिंहलाइ हटाएर आफु बडाहाकिम भइ बसे । क्र्रान्तिमा सहयोग गर्नेहरुलाइ कर्मचारी बनाए । चार महिनासम्म उनले शासन चलाए । कित जोत हलो, कित छोड थलो, यदि हैन भने अब छैन भलो, भन्ने नाराका साथ जोताहा किशानका पक्षमा वकालत गरे । बेलौरीमा बैक कब्जा गरि त्यहाँबाट लिएको पैसा सेनालाई तलव दिएर बाँकी रहेको मध्ये कमैया र हलियाहरुलाई सहयोग गरे । उठ जागरे, नेपाली नवजवान जागरे । नेपालमा तम म, नेपाल देशलाइ स्वतन्त्र बनाँउरे । भन्ने उहाँको देशभक्ति गीत (प्राथना) थियो । बम्बै जाने रेलगाडीमा दिल्लीको माल आयो , गरीबका दिन आया ठालुको काल आयो । उहाँको चर्चित गीत थियो । यसबाट बुझ्न सकिन्छ कि, भीम दत्त पन्त देशलाई स्वतन्त्र बनाउने । गरीबहरुलाई ठालुहरुको कब्जाबाट मुक्त गराउने अभियान थिए ।

कसरी भयो ? भीमदत्त माथी दमन :
भीम दत्त पन्तले गरीबको पक्षमा गरेको काम नै गाउँका ठालुहरुलाई मन परेको थिएन । त्यसमाथी दलितहरुको घरमा खाना खाने, तमसुख जलाउने, बेदखली गर्नेलाई कारवाही गर्ने ब्यावहारले उनका बिरोधी बढ्दै गएका थिए । सरकारी अड्डाले उनको बिषयमा झुट्टा रिपोर्ट सरकारलाई पठाउँथे भने ठालुहरु गाउँमै षडयन्त्र गरिरहेका हुन्थे । उनीहरुले भीम दत्तलाइ मार्न चन्दा उठाएर सेनाको श्रीनाथ गणलाइ पैसा समेत दिए । सरकारले भीम दत्त पन्तलाई पटक पटक जेल हाल्यो । त्यसबाट पनि भीम दत्त बिचलित नभएपछि मार्ने षडयन्त्र गरि भारतीय सेना समेत बोलायो । भीम दत्त पन्त बेलौरी कब्जा गरि धनगढी कब्जा गर्ने तयारी साथ हिडिरहेका बेला भारतीय सेनाले घेरामा पार्यो । चारैतिर भारतीय सेनाले घेरको र पानी परी हिलो भएकाले भाग्न र प्रतिकार गर्न कठिनाई थियो ।

त्यस अवस्थामा पनि भीम दत्त पन्त त्यहाँबाट बच्न सफल भई केही सेनाका साथ निंगाली, सहजपुर हुँदै बुडर पगे । सबैलाई सुरक्षित बाहिर निकाल्न नसक्दा धेरै सेना मारिए । २०१० साल साउन १७ गते बुडरको गइलेक भन्ने ठाउँमा मगरको घरमा खाना पकाउन लागेका बेला गोली हानियो । मलाई पक्राउ गर । गोली नहान भन्दा मानेनन । गोली लागी छटपटाईरहेका बेला भीम दियालले उनको टाउको काटि दिए । टाउको लगेर बडाहाकिम मोहन बहादुर सिंहलाई बुझाईयो । काटेको टाउको बाँसको टुप्पोमा झुण्ड्याई राजद्रोहीलाई यस्तै हुन्छ भन्ने प्रचार गरियो । काजक्रियाका लागि पार्वती पन्त टाउको माग्न जाँदा दिइएन । गाउँमा काजक्रिया गर्न बाहुन पाईएन । क्रिया पनि गर्न दिईएन । पानीको नाउलो छुट्याइयो । गौरा अलग गरियो । उनको परिवारलाई मेलापर्व, मन्दिर, पानीपधेरोबाट बञ्चित गरियो । गाउँमा क्रिया गर्न समेत नपाईने भएपछि ४० तोलाको कल्ली, २२ रुपयाँ तोला सुन, घरमा भएका भाँडाकुँडा बेचेर पार्वती पन्त, भीम दत्तका भाइ सिद्धराज पन्त र यदुनाथ पन्तले हरिद्वार गई काजक्रिया गरे ।

नारामा रहे भिम दत्त पन्त, बलदेव राम र तुलसीलाल आमत्य :
किसान आन्दोलनको नेतृत्व गरि सबै दलका आदर्श बनेका भीम दत्त पन्त लामो समयपछि शहीद घोषणा हुनु भएको छ । २०७२ फागुनमा सरकारले भीम दत्त पन्त सहित किसान बिद्रोहका २२ नेताहरुलाई शहीद घोषणा गरेकोछ । नेताहरु सडकमा हुँदा गरीबलाई सम्झिने र सिंहदरबार गईसकेपछि ठूलाबडाकै पक्षमा जाने संस्कार भएकै कारणले भीम दत्तलाई पनि बिर्सेका हुन सक्छन ? अर्कोतिर दलहरुमा आदर्श भन्दा सत्ता साँटगाँठलाई महत्व दिने प्रबृति बढेको र किशानलाई उपेक्षा गर्दै आएकाले पनि भीम दत्त पन्तले सम्मान पाएनन भन्न सकिन्छ ।

यसो भन्दा भीम दत्तलाई शहिद घोषणा गरेर मात्र सम्मान भएको मान्न सकिदैन । सच्चा सम्मान गरेको तव मानिने छ, जव उनले उठाएको मुद्दा सम्बोधन हुनेछ । भूमिहीन, सुकुम्बासी, बाढीपिडित, हलिया, मुक्त कमैया आरक्षपीडित, ऐलानीबासी, र किसानले जग्गा र जग्गाको अधिकार पाउनेछन । पछिडिएका जाती, समुदायले न्याय पाउनेछन । गरीबलाई खाना, बास, सुरक्षा, शिक्षा, उपचार र रोजगारीको ग्यारेण्टी गर्नु भीम दत्त पन्तलाई सम्मान गर्नु हो ।

अधिकार प्राप्तीको अभियान रोकिएको ,सकिएको छैन, अभियान सकिने बिषय पनि होईन । यो निरन्तर छ त्यसैले अधिकार प्राप्तीको लडाईमा संगठित अगुवा कार्यकर्ता, किसान नेता भिम दत्त पन्त, बलदेव राम र तुलसीलाल आमत्य जस्ता असल अगुवाहरुले देखाउनुभएको बाटोको अनुसरण गर्नुपर्ने भूमि तथा कृषि सुधारको अभियानमा संगठित सबैले गर्नुपर्ने आवश्यकता छ ।

लेखक : राम बहादुर चुनारा
भूमिअधिकारकर्मी, प्रदेश सचिव
राष्ट्रिय भूमिअधिकार मञ्च, नेपाल सुदुर पश्चिम प्रदेश

ताजा समाचार

This will close in 10 seconds