कञ्चनपुर

सुदूरपश्चिम विश्वविद्यालयमा जारी खेलकुद सप्ताह विभिन्न खेल गतिविधिहरु संचालन गर्दै भव्यताका साथ सम्पन्न भएको छ ।
मंगलवार विद्यार्थी हित तथा खेलकुद कल्याण शाखाले ११ फाल्गुनदेखि संचालन गरेको सप्ताह व्यापी खेलकुद प्रतियोगीताको समापन भएको हो । केन्द्रीय क्याम्पसमा सम्पन्न कार्यक्रममा विभिन्न खेलकुद प्रतियोगीताहरुका बिजेता, उपबिजेता र सन्त्वना स्थान हात पार्ने खेलाडीलाई प्रमाण पत्र र मेडल प्रदान गरिएको थियो ।

अन्तरविभागीय टिमहरु बीच भएको प्रतिस्पर्धामा व्यवस्थापन विभाग ले सबैभन्दा बढी मेडल प्राप्त गरेको थियो । सु.प.वि का कर्मचारी र प्राध्यापकहरु बीच मैत्रीपूर्ण फुटबल प्रतियोगीताको आयोजना समेत गरिएको थियो ।
विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. अम्मरराज जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको खेलकुद सप्ताह समापन समारोहका सभापति विद्यार्थी कल्याण तथा खेलकुद शाखाका प्रमुख शंकर पुजारा रहेका थिए । कार्यक्रममा कर्मचारी, प्राध्यापकहरु, डिन,विभागीय प्रमुख लगायत विद्यार्थीहरुको समुपस्थिति रहेको थियो ।
समापन समारोहमा प्रमुख अतिथि जोशीले समग्र विश्वविद्यालयको चौतर्फी विकासका लागि आफूहरु लागिपरेको र खेलकुद क्षेत्रलाई उच्च प्राथमिकताका साथ हेर्दै आएको बताए ।

उनले विश्वविद्यालयको सर्वागीङ्गण विकास गर्न सबै सरोकारबालाहरुबीच समझदारी र समन्वय हुनुपर्नेमा जोड दिए । यस्तै, कार्यक्रमको समापन गर्दै खेलकुद शाखा प्रमुख पुजाराले खेलकुद प्रतियोगीतालाई प्रभावकारी र कुशलतापूर्वक सम्पन्न गर्न सबैको महत्वपूर्ण भूमिका रहेकोमा धन्यवाद ज्ञापन गरे ।
उनले खेलकुद क्षेत्रको विकासका लागि विश्व विद्यालयका पदाधिकारीहरुको ध्यानाकर्षण गराएका थिए । समापन कार्यक्रमको संचालन विश्वविद्यालयका कर्मचारी विनोद जोशीले गरेका थिए ।






