धानबालीमा फड्के किराको संक्रमण बढेसँगै कंचनपुर किसान चिन्तीत

कंचनपुर

कंचनपुरका महाकाली र भीमदत्त नगर पालिकामा फड्के किराको संक्रण व्यापक रुपमा फैलिन थालेको छ । धानबाली पाक्ने र भित्र्याउने समय हुनै लाग्दा फड्के किराको संक्रमण बढ्दै गएपछि किसान चिन्तीत भएका छन्् । कञ्चनपुरको माहाकाली नगरपालिका–१ मीलन चोकका विष्णु दत्त भट्टले ३ विघा जमिनमा लगाएको धानमा फड्के किराको संक्रण देखिएपछि उनी चिन्तित भएका हुन् । अघिल्ला बर्षहरुमा नदेखिएको किरा यसपटक देखिएको छ । १५ कठ्ठामा सिल्की र १५ कठ्ठामा सर्जवान जातको धान लगाएका भट्टले अहिलेसम्म पटक–पटक विषादी छरिसकेपनि फड्केको संक्रमणमा कुनै कमी आएको छैन् ।

एक हप्तादेखि धानमा फड्के किराको संक्रमण देखिएसँगै भट्टले फड्के किरा मार्न विभिन्न उपाय अपनाएपनि किरा नियन्त्रणमा आईसकेको छैन् । अहिलेसम्म भट्टको आधा खेतको धानबाली फड्के किराले खाएर सखाप पारिसकेको छ भने यसले गर्दा आफ्ना बालबच्चा,परिवार र गाइबस्तु कसरी पाल्ने हो भन्ने चिन्ताले उनलाई पिरोलिरहेको छ । पहिले धानका पातहरु पहेंलो हुँदै गएको र बालाहरु आए पनि फोस्रा भएका छन् । साथै, धानका बोटहरुनै मर्ने समस्या रहेको भट्टले उल्लेख गरे । महाकाली नगरपालिकाकै वडा नम्बर १ चक्किबजारका धनिदत्त भट्टको एक विगाहमा लगाएको धानबालीमा पनि फड्के किराको संक्रण देखापरेको छ । ‘धान भित्राउने समयमा बालीमा फड्के किराको प्रकोप देखियो ।’ कृषक धनिदत्त भट्ट भन्छन् ‘अब त कोरोनाले भन्दा पनि खाद्य संकटले मर्नुपर्ने अवस्था आउला जस्तो छ ।’

यस्तै, महाकालीकै वडा नम्बर ४ पिपल चौताराका रुद्रलाल सुनार पनि धानबाली फड्के किराले सखाप पारेपछि परिवार कसरी पाल्ने भन्ने चिन्तामा रहेका छन् । ‘केहि काम गरौ कोरोनाले गर्न दिएको छैन ।’किसान सुनारले भने ‘ लगाएको बाली पनि किराले सखाप पारिदियो, अब त कोरोना महामारीका बिच खाद्य संकट पनि पर्छ ।’ फड्के किराको प्रकोप अहिले जिल्ला भरिनै रहेको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । भीमदत्त नगरपालिका खैरेनी, महुलिया लगायतका क्षेत्र र महाकाली नगरपालिकाका धानबालीमा फड्के किराको संक्रमण व्यापक बन्दै गएको जानाँदै ज्ञान केन्द्रले यसको न्यूनिकरणका लागी स्थानिय सरकार, कृषि शाखा तथा कृषक संग समन्वय सहकार्य गरी केही विषादी उपलब्ध गराउने गरेको तथा रोकथामका लागि अन्य प्रयास समेत भईरहेको कृषि ज्ञान केन्द्रका जनक बहादुर सिंहले बताएका छन् ।

आखिर के हो त फड्के किरा ?
धानबालीका लागि प्राणघातक बन्दै आएको फड्के किरा खैरा हरिया पिठ्युँ भएका फुत्त फुत्त उफ्रिने प्रकृतिका हुने गर्दछन् । यस्ता खालका किराहरुले धानको हरिया पात चुसेर खाने गर्दछन् । जसले गर्दा धानका बोटहरु छिट्टै सुकेर जान्छन् । बोटहरु गाँजिन र बढ्न सक्दैनन् । धानको वाला नलागी पराल जस्तो भई सुक्ने हुन्छ ।

कृषि ज्ञान केन्द्रद्वारा स्थलगत निरीक्षण
धनवालीमा फड्के किराको संक्रमण बढेसँगै कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्ट सहितको केन्द्रको टोलीले स्थलगत अनुगमन गरेको छ । माहाकाली नगरपलिकाका किसानको खेतमै पुगेर निमित्त कार्यालय प्रमुख भट्टसहितको टोलीले किसानलाई फड्के किराको समस्या निदानका उपायहरु सुझाएको हो । ‘हामीले स्थलगत अनुगमनका क्रममा माहाकाली नगरपालिका र भीमदत्त नगरपालिकामा फड्के किराको संक्रमण अत्याधिक देखेका छौ ।’ निमित्त कार्यालय प्रमुख भट्ट भन्छन् ‘रोग निदान गर्न तत्काल कदम नचालिए किराको संक्रमण देखिएको क्षेत्रमा उत्पादनमा कमी आएर खाद्य संकट पनि निम्तिन सक्छ ।’ फड्के किराबाट धानबाली जोगाउँन इमिडाक्लोप्रिड नामक विषादीलाई धानको पूरै बोटा भिज्ने गरी छर्कीएमा फड्केको संक्रमण न्यून हुदै जाने उनले वताए । पानीमा एक एमएलका दरले इमिडाक्लोप्रिड विषादी मिलाएर धानको फेदमा पर्ने गरी छर्किन निमित्त कार्यालय प्रमुख भट्टले किसानहरुलाई अनुरोध समेत गरेका छन् ।

 

ताजा समाचार

This will close in 10 seconds