कैलालीमा काठ तस्कर प्रहरी फन्दामा

कैलाली

सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाका विभिन्न स्थानबाट प्रहरीले काठ तस्कर मोटरसाईकल, राँगा र डल्लव गाडा सहित २ जना पक्राउ गरेको छ। आइतबार साउन ३२ गते कैलाली जिल्ला प्रहरी कार्यालयबाट खटिईएको प्रहरी टोलीले फरक फरक स्थानबाट अवैध काठ बरामद गरी बरामद काठ, मोटरसाईकल, राँगा, डल्लव गाडा र २ जना लाई पक्राउ गरी आवश्यक कारबाहीका लागी डिभिजन वन कार्यालय कैलालीमा बुझाएको छ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालीका ११ बेला बस्ने नन्दलाल रानाले से २ प १५२५ नम्बरको मोटरसाईकलमा सवार भई ऐ.ऐ. ५ स्थित सालको झयाल पल्ला १४ थान बोकी आईरहेको अवस्थामा फेलापारिएको र सोधपुछ गर्दा घरमा समेत काठ रहेको खुल्न आएकोले घरमा समेत खान तलासी गर्दा विभिन्न साईजका पल्ला थान २५१, तयारी ढोका थान २ तथा झ्यालको फ्रेम थान ४ समेत बरामद गरि रानालाई पक्राउ गरिएको कैलाली जिल्ला प्रहरी कार्यालय जनाएको छ। सोही दिन धनगढी उपमहानगरपालीका वडा नम्बर ११ बस्ने बर्ष ३६ को मुन्ना चौधरीले गोदावरी न.पा. ९ स्थित भित्री सडक खण्डमा राँगा डल्लवमा ३ गोलीया साल जातको काठ बोकी सिद्दार्थ फर्निचर उद्योगमा लगी रहेको अवस्थामा फेलापारी काठ,रांगा, डल्लव र निज मुन्ना चौधरी समेतलाई पक्राउ गरिएको र गोदावरी नगरपालीका वडा नम्बर ९ स्थित सिद्दार्थ फर्निचर उद्योगका संचालक जगतराम चौधरीको घर कोठामा लुकाई छिपाई राखेको अवस्थामा सिसमको विभिन्न साईजको कडी थान ८१, सिसमकै विभिन्न साईजको फ्रेम थान ९१ र सालको विभिन्न जातको कडी थान १६ र सालकै फ्रेम थान २२ बरामद गरिएको छ भने चौधरी फरार भएको र खोज तलास भई रहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

ताजा समाचार