कृषकले माग अनुसार रासायनिक मल पाउन अझै डेढ महिना कुर्नु पर्ने

२९ जेठ,काठमाडौं । देशभरका किसानहरु यतिबेला रासायनिक मलको अभाव झेलिरहेका छन् । मनसुनी वर्षा सुरु भइनसकेको र रोपाइँ मुखैमा आएपछि किसानहरु रासायनिक मल खोज्दलै जिल्ला सदरमुकाम तथा नजिकको सहकारी पसलमा पुगेका छन् । तर घण्टौं लाइन बस्दा पनि रासायनिक मल भने मागेजति पाउन सकेका छैनन् ।

मल अभाव चुलिँदै गएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लकडाउनका कारण रासायनिक मलको माग पूरा गर्न नसकिएको तर प्रयास जारी रहेको प्रष्टोक्ति दिएको छ ।

किसानलाई अनुदानमा मल वितरण गर्न समयमै खरिद प्रक्रिया अघि बढाइए पनि लकडाउने गर्दा समयमै मल ल्याउन नसकिएको मन्त्रालयको दाबी छ ।

अघिल्लो वर्षको तुलनामा किसानले मागेजति मल पाउन अझै डेढ महिना लाग्ने कृषि सचिव राजेन्द्र प्रसाद भारीले जानकारी दिए ।

बाटोमै रोकियो एक लाख मेट्रिक टन मल

यस वर्षको वर्षे सिजन सुरु भएसँगै रासायनिक मलको मागमा अत्याधिक वृद्धि भएको मन्त्रालयले जनाएको छ ।

चालु आर्थिक वर्षकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट चार लाख ५० हजार मेट्रिक टन अनुदानित रासायनिक मल किसानलाई वितरण गर्ने कार्यक्रम भए पनि लकडाउनका कारण एक लाख मेट्रिक टन भारतको बन्दरगाहमा अड्किएको मन्त्रालयले जनाएको छ ।

चीन र खाडी मुलुकबाट नेपालमा आपूर्ति हुने रासायनिक मल भारतको कलकत्ता बन्दरगाह प्रयोग गरी नेपाल ल्याउने गरिएको र ती मुलुकहरु कोरोनाका कारण लकडाउन गरिँदा मलको आपूर्ति रोकिएको कृषि सचिव भारी बताउँछन् ।

‘कलकत्ता बन्दरगाहमा नेपालको मलब्यागिङ्ग र लोडरअनलोड गर्ने कार्य लकडाउनले बन्द हुँदा ५० हजार मेट्रिक टन मल एक महिना १५ दिनसम्म रोकियो,’ उनले भने ।

जेठको पहिलो हप्ता आइपुग्नु पर्ने मल भारतमा लकडाउन खुकुलो भएपछि आउने क्रम सुरु भएको पनि उनले बताए । यस्तै गुजरातको कान्डला बन्दरगाहमा पनि २१ हजार ५ सय मेट्रिक टन युरिया मल एक महिना १५ दिनदेखि रोकिएको मन्त्रालयले जनाएको छ ।

कलकत्ता बन्दरगाह बन्द भएपछि मल कान्डला बन्दरगाहबाट नेपाल ल्याउन कृषि, परराष्ट्र र भारतस्थित नेपाली राजदूतावासमार्फत कूटनीतिक प्रयास गरिए पनि हालसम्म मल ल्याउन नसकिएको मन्त्रालयले जनाएको छ ।

असार दोश्रो साता नेपाल आइपुग्ने गरी ठेक्का प्रक्रिया पूरा भएको ५० हजार मेट्रिक टन युरिया मल पनि लकडाउनका कारण भर्खरै चलान हुने प्रक्रिया सुरु भएको मन्त्रालयले जनाएको छ ।

उक्त परिमाणको मल भारतको कलकत्ता हुँदै नेपाल आइपुग्न अझै डेढ महिना लाग्न सक्ने मन्त्रालयको अनुमान छ ।

असार दोश्रो सातासम्म सबै परिमाणको मल आयात गरी किसानलाई वितरण गर्ने योजनाअनुसार सबै काम सके पनि लकडाउने ठूलो असर पारेको मन्त्रालयले जनाएको छ ।

गत वर्षभन्दा २५ हजार मेट्रिक टन मल बढी वितरण भए पनि बाँकी मल उपलब्ध गराउन लागिपरिरहेको मन्त्रालयले जनाएको छ ।

ताजा समाचार

This will close in 10 seconds