दाम्पत्य जीवनमा मनमुटाव ल्याउने यि हुन् ७ भ्रम

दम्पतीबीच किन ठाकठुक पर्छ ? के निहुँमा उनीहरुबीच मनमुटाव हुन्छ ? कुन कारणले दाम्पत्य सम्बन्धलाई धरापमा पार्छ ?

खासमा यसका लागि श्रीमान–श्रीमतीले गर्ने एकअर्काप्रतिको अपेक्षा वा बुझाई जिम्मेवार छ । भनिन्छ नि, विवाह भनेको सम्झौता हो । दाम्पत्य जीवनमा आपसमा धेरै कुरा सम्झौता गर्नुपर्ने हुन्छ । सबै कुरा आफुले भनेजस्तै, सोचेजस्तै ठीकठाक नहुन सक्छ । आफुले अपेक्षा गरे अनुरुपका कुराहरु प्राप्त नहुन सक्छ । जब हामी यी सामान्य कुराहरुलाई बेवास्ता गर्छौं, तब दाम्पत्य सम्बन्धमा फाटो आउँछ । अतः दम्पतीबीच एकअर्कामा कस्तो धारणा र अपेक्षा हुन्छ, जसले उनीहरुको सम्बन्धमा चिसोपन ल्याउँछ ?

व्यक्त नगरे पनि आफ्ना कुरा पार्टनरले बुझ्नेछन्

वास्तविकताः व्यक्त नगरिकन मनको कुरा बुझ्ने जीवनसाथी त फिल्मको पर्दामा वा उपन्यासको पानामा मात्रै हुन्छन् । आफ्नो इच्छा, आवश्यकता, अपेक्षालाई खुलेर बताएपछि मात्रै पार्टनरले त्यो तपाईंले सम्झाउन चाहे अनुसार नै बुझ्न सक्छन् ।

त्यस्तै बुझेपछि पनि त्यसलाई पुरा गर्नै पर्छ भन्ने कुनै ग्यारेन्टी छैन । त्यसैले जीवनसाथीलाई आफ्नो भावना, इच्छाहरुको बारेमा बताउनुपर्छ । सम्बन्धमा तनावमुक्त रहने एकमात्र माध्यम संवाद हो र कुरा नगरि एकअर्काको मनको कुरा केही पनि थाहा हुँदैन भन्ने वास्तविकतालाई आत्मसात गरौं ।

दुवैले बराबर काम गर्नुपर्छ

वास्तविकताः सबैको क्षमता, खुबी एकनास हुँदैन । सबैले समान ढंगले काम गर्न सक्दैन । तर, कतिपय श्रीमान वा श्रीमती सोच्छन् कि आफुले जस्तै पार्टनरले पनि काम गर्नुपर्छ । पार्टनरको काम गर्ने ढंग, सीप आफ्नो जस्तै पूर्ण हुनुपर्छ । यस किसिमको धारणा आफैमा गलत हो ।

व्यवहारिक एवं घरेलु कामहरुलाई बराबर बाँड्नु कहिलेकाँही व्यवहारिक हुुँदैन ।

पार्टनरलाई हरेक दुःख बताउनु हुँदैन

वास्तविकताः दुःखसँग एक्लै लड्न मुस्किल हुन्छ । साथै मिलेर मात्रै कुनै पनि समस्याको हल खोज्न सकिन्छ । विवाहमा सेयरिङ जरुरी छ र यो सोयरिङ सुख दुःखमा समान रुपले हुनुपर्छ ।

केही खास कुरा स्थितीमा पार्टनरलाई हरेक कुरा भन्न सकिँदैन । तर, सकेसम्म आफ्नो समस्याहरु पार्टनरलाई भन्नुपर्छ । तनाव, रोग वा कुनै व्यावसायीक समसयाबाट जुधिरहेको बेलामा सेयरिङले सम्बन्ध मजबुत हुन्छ ।

त्यस्तै दाम्पत्य जीवनको समस्याहरु कुनै तेस्रो व्यक्तिसँग गर्दा भने सतर्क हुनुहोस् । पार्टनरको करियर वा आर्थिक पक्षसँग जोडिएका कुनै समस्या अरु मानिसहरुसँग नगर्नुहोस् ।

विवाहले मानिसलाई पूर्ण बनाउँछ

वास्तविकताः विवाहबाट हरेक आवश्यकता पुरा हुँदैन । त्यसैले विवाहपछि सबैकुरा आफूले चाहेजस्तो हुँदैन । मानिसलाई पूर्णता आफ्नो काम र जीवनमा आफ्नो उद्देश्यबाट मिल्छ ।

मानिस सामाजिक प्राणी हो । उनीहरुलाई साथी नातेदारसँग भेटघाट गर्ने र आफ्नो सोख पुरा गर्ने आवश्यकता हुन्छ । विवाह जीवनको सबैभन्दा महत्वपूर्ण सम्बन्ध हो तर अन्य सम्बन्ध पनि जिन्दगीमा धेरै जरुरी छ ।

समूहमा रहने, रचनात्मक काम गर्ने र आफ्नो विचार बाँड्ने गर्नाले पनि व्यक्तिलाई पूर्णताको महसुस हुन्छ ।

पार्टनरलाई उसको गल्ती बताएर त्यसलाई सुधार्न सकिन्छ

वास्तविकताः पार्टनरको गल्ती अवश्य बताउनुहोस् तर सँधै खोट लगाउने वा दोष दिने नगर्नुहोस् । सकरात्मक आलोचनाबाट मात्रै अरुको गल्तीलाई सुधार्न सकिन्छ । संवादबाट चीजहरु बदलिन्छन् ।

आलोचना गर्दा पार्टनरको राम्रो कुराहरु भन्न चैं नभुल्नुहोस् । आलोचनाको सही तरिका यहि हो । तपाईंको लक्ष्य जीवनसाथीलाई नीच देखाउने होइन बरु उनीहरुको गल्ती कमजारीलाई सुधार्ने हुनुपर्छ ।

भावना नभई पार्टनर प्रति प्रेम पनि दर्शाउन सकिँदैन

वास्तविकताः विवाहले सिकाउने एक पाठ यो पनि हो कि कहिले काहीँ पार्टनरको लागि आफूलाई मन नलागेको कुरा पनि गर्नुपर्छ । कहिलेकाँही फिलिंग्स आँउदैन तर सम्बन्धलाई राम्रो बनाउनको लागि तपाईंले आफ्नो रुची नभए पनि उनीहरुले भनेको मान्नुपर्छ ।

पार्टनरको व्यवहार, बानी वा कुनै कुराले चित्त दुखाएको छ भने पनि कहिले काहीँ आफूले त्याग गर्नुपर्छ । प्रेम पाउनको लागि पहिले प्रेम दिनुपर्छ । सकरात्मक व्यवहार गरेमा मात्रै पार्टनरको मनमा पनि स्नेह जाग्छ । र, परिणामस्वरुप तपाईंको मनमा पनि उनीप्रति फिलिंग्स पैदा हुन्छ ।

श्रीमान श्रीमती एकअर्काको मिल्ने साथी हुन्

वास्तविकताः केही जोडीहरुलाई देखेर उनीहरु एक अर्काको लागि नै बनेका हुन् जस्तो भावना पैदा हुन्छ । उनीहरुको मित्रता देखेर कतिपयले इष्र्या पनि गर्छन् तर मित्रता मात्रैले पनि विवाह सफल हुँदैन ।

मित्रतामा कहिले काहीँ मानिसहरु एकअर्कालाई आफूले जे गरेपनि हुन्छ जस्तो गर्छन् तर, विवाहमा यसले समस्या हुन सक्छ । विवाहमा एक अर्काको विचारको सम्मान गर्नु धेरै आवश्यक हुन्छ ।

ताजा समाचार

This will close in 10 seconds