प्रहरी हिरासतमै झुण्डिएको अवस्थामा फेला परे एक युवक

जेठ २८, धनुषा – धनुषाको ईलाका प्रहरी कार्यालय सबैलामा एक युवकको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।

गएको जेठ १२ गते ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको घटनामा पक्राउ परेका २३ वर्षीय शम्भु सदा प्रहरी हिरासतमै झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

घटनापश्चात यस क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ । स्थानीयवासीले युवकलाई प्रहरीले मारेको आरोप लगाउँदै प्रदर्शनमा उत्रिएका छन् ।

स्थानीयवासीले ईलाका प्रहरी कार्यालय सबैलाको कार्यालयमाथि ढुङ्गामुढा गरेका छन् भने प्रहरीको भ्यानमा समेत तोडफोड गरेका छन् । उनीहरुले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

अवस्था तनावग्रस्त बन्दै गएपछि प्रहरीले केही राउण्ड हवाई फायर र लाठी चार्ज समेत गरेको थियो । यस क्षेत्रमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ ।प्रहरीले हिरासतमा रहेका शम्भुले आत्महत्या गरेको दाबी गर्दै आएको छ ।

ट्रयाक्टर चालक रहेका शम्भु हिरासतको शौचालयभित्र राति साढे २ बजे मृत भेटिएको धनुषाका डीएसपी रामेश्वर कार्कीले जानकारी दिनुभएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।

ताजा समाचार