संसदमा प्रधानमन्त्री ओलीले सुनाएको ‘भैँसी व्यापारी’ को कथा यस्तो छ !

२८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संसदमा झण्डै दुई घण्टा लामो सम्बोधन गरे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयका लागि विनियोजित बजेटबारे भएको छलफलमा उठेका प्रश्नको जवाफ दिन रोस्ट्रममा पुगेका प्रधानमन्त्री ओलीको सम्बोधन कोरोना भाइरस (कोभिड(१९) र नेपाल(भारत सीमा विवादमा बढी केन्द्रित थियो ।

सांसदहरूले पनि प्रधानमन्त्री ओलीको जवाफमा आएको कोरोना सम्बन्धित विषयमा केन्द्रीत भएर प्रतिप्रश्न गरे । पीसीआर टेस्टको सुस्त गति, विश्वसनीयतामाथि प्रश्न उठेको आरडीटीको प्रयोग र क्वारेन्टिन स्थलबारे सरकार आफैँले बनाएको मापदण्ड समेत पूरा हुन नसकेको विषयमा प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका थिए ।

जवाफमा प्रधानमन्त्रीले जवाफ मात्र दिएनन्, चलाख भैँसी व्यापारीको कथासमेत सुनाएका छन् ।

प्रधानमन्त्रीले सुनाएको कथा यस्तो छ !

भैंसी व्यापारीले भैँसी बेच्ने भएछ । किन्ने मान्छे आएपछि सोधेछ, ‘दूध कति दिन्छ भैँसीले ?’ व्यापारीले भनेछ, ‘भैँसी किन्दा खासगरी दूध कति दिन्छ भन्ने मतलब हुँदैन, सिङ हेर्नुपर्छ सिङ । सिङ कस्ता छन् हेर्नुस् न !’ उसले तेल लगाएर सिङ चिल्ला पारेर राखेको रहेछ । अब भैँसीको सिङले के गर्ने ? दिनुपर्ने दूध हो ।

नेपाली कांग्रेस सांसद सञ्जय गौतमले प्रधानमन्त्री ओलीलाई सरकारको कामबाट आफैँ कति सन्तुष्ट हुनुहुन्छ ? भन्ने प्रश्न गरेका थिए । त्यसक्रममा प्रधानमन्त्री ओलीले सरकारले दुई वर्षमा गरेको कामलाई ओझेलमा पार्न अर्को(अर्को कुरा गर्ने गरिएको भन्दै चलाख भैँसी व्यापारीको यो कथा सुनाएका थिए ।

विपक्षी सांसदहरूले भने कोरोना महामारीमा चुकेका प्रधानमन्त्री ओलीले आफूहरूले उठाएको सवालमा चलाख भैँसी व्यापारीले जस्तै जवाफ दिएको टिप्पणी गरेका छन् ।

ताजा समाचार

This will close in 10 seconds