महामारीको बेला राजस्व धेरै चाहिएकाले बिजुली गाडीमा कर बढाइएको हो: अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा युवराज खतिवडाले बिजुली गाडीमा लगाइएको कर दीर्घकालिन नभएको बताएका छन्। आर्थिक विधेयकबाट कर बढाएपछि सांसदहरुले उठाएको प्रश्नमा जवाफ दिंदै खतिवडाले अहिले संकटको समयमा सरकारलाई केही राजश्व धेरै चाहिएकाले पनि कर बढाइएको जानकारी दिएका छन्।

बिजुली गाडीमा लगाइएको थप करको प्रतिरक्षा गर्न आफू सक्षम भएपनि यो दीर्घकालिन नभएको र आवश्यकता पर्दा सरकारले हेरफेर गर्नसक्ने संकेत गरेका छन्।

’हामीले २०७३ सालमा संकटको समय थियो। त्यतिबेला नविकरणीय उर्जा प्रयोग बढाउनका लागि निजी बिजुली साधनमा १० प्रतिशत भन्सार लगायौ। त्यस्तै अहिले कोभिड १९ को संकट छ।

यतिबेला केही राजश्व पनि हामीलाई चाहिएको त्यसैले अहिले बढाएका छौ। यो दीर्घकालिन र ढुंगामा लेखिएको अक्षर होइन’ खतिवडाले संसदमा जवाफ दिंदै भने।

त्यस्तै खतिवडाले कर बढाउनु पहिले सूचना चुहावट गरेको भन्ने आरोप निराधार भएको बताएका छन्।

सांसदहरुले कर बढाउने भएपछि सरकारले सूचना पहिलै दिएर बिजुली गाडी बजेट अघि धमाधम आयात भएको भन्दै प्रश्न उठाएका थिए।

खतिवडाले जेठ १ देखि १४ गतेसम्म ७५ओटा गाडी आयात भएको र १४ गते २ गाडीमात्र भन्सार पास भएकाले उक्त आरोप भ्रम भएको बताएका छन्।

’विद्युतीय गाडी यो वर्ष अघिल्लो वर्षको तुलनामा दोब्बर आयात भएका छन्। पेट्रोलियमबाट चल्ने गाडीहरु पनि आएका छन्। यसको सबै विवरण हाम्रो पब्लिक सिस्टममा छ। भ्रम नफैलाऔं। भ्रामक कुरा नगरौ’ उनले भने।

ताजा समाचार