कञ्चनपुरमा प्रहरीका असई र हवल्दारमा कोरोना संक्रमण, क्वारेटाईन सील

महेन्द्रनगर २७ जेठ ।

कञ्चनपुरमा दुई जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट क्वारेन्टिनको सुरक्षामा तैनाथ एक जना असई र हवल्दारमा कोरोना पोजेटिभ देखिएको डिएसपी अमर थापाले बताए ।

‘दुई जनामा कोरोना पोजेटिभ देखिएको छ, हामीले अहिले उहाँहरुलाई छुट्टै राखेका छौँ ।’ डिएसपी थापाले भने, ‘सतर्कता अपनाउँदा अपनाउँदै पनि संक्रमणले छोएको छ, हामीले अहिले उच्च सतर्कता अपनाउन भनेका छौँ ।’

संक्रमण देखिएका प्रहरीहरु ३८ देखि ४० वर्ष उमेरका छन् । कोरोना पोजेटिभ देखिएका असई र हवल्दार महेन्द्रनगरस्थित बैजनाथ माध्यमिक विद्यालयको क्वारेन्टिनको सुरक्षामा कार्यरत रहेको डिएसपी थापाले बताए ।

क्वारेन्टिनको सुरक्षामा खटिएका दुई जना प्रहरी अधिकारीमा कोरोना संक्रमण देखिए पछि अहिले क्वारेन्टिन सील गरिएको छ ।

‘क्वारेन्टिन सील गरिएको छ, पछिल्लो समय उहाँहरुलाई क्वारेन्टिनमै बस्ने गर्नु हुन्थ्यो।’ डिएसपी थापाले भने ।

संक्रमित दुवै जनाको अवस्था सामान्य रहेको छ । उनीहरुलाई अहिले महेन्द्रनगरस्थित आइसिएचको आइसोलेसनमा राखिएको छ ।

ताजा समाचार