कञ्चनपुर जिल्ला कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइने , प्रहरीलाई क्‍वारेन्टिन

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्ला कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ ।

स्थानीय प्रशासनले सोमबार आगामी असार १ गतेदेखि कारागारको सुरक्षा जिम्मेवारी सेनालाई दिने निर्णय गरेको हो ।

कारागार सुरक्षार्थ हाल तैनाथ नेपाल प्रहरीलाई क्‍वारेन्टिनको सुरक्षामा केन्द्रित गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

“भारतबाट नेपाल भित्रिने नागरिकको संख्या र क्‍वारेन्टिनको संख्या वृद्धि भइरहेकाले नेपाल प्रहरीलाई क्‍वारेन्टिनको सुरक्षामा केन्द्रित हुन सहजीकरणका लागि हाल नेपाल प्रहरीले लिइरहेको कारागार सुरक्षाको जिम्मेवारी मिति २०७७।०३।०१ गतेदेखि नेपाली सेनालाई दिने,” जिल्ला प्रशासन कार्यालयले सामाजिक सञ्जाल फेसबुकमार्फत् जारी गरेको सार्वजनिक सूचनामा भनिएको छ ।

स्थानीय प्रशासनले जिल्लाभित्र कोरोनाको जोखिम न्यूनीकरणमा संलग्‍न संघ, प्रदेश, स्थानीय तहका अस्पताल, स्वास्थ्य केन्द्र, सामुदायिक र निजी क्षेत्रका अस्पतालहरुबीच थप समन्वय र सहजीकरणका लागि नेपाली सेनाका सहसेनानी डा. अल्का मजगैयालाई तोकिएको पनि जनाएको छ ।

ताजा समाचार