कञ्चनपुरमा एकैदिन १९ जनामा कोरोना संक्रमण पुष्टी


सुदूरपश्चिममा आज थप ३७ जनामा कोरोना पुष्टि भएपछि संक्रमितको सङख्या एक सय ४७ पुगेको छ। धनगढीको प्रयोगशालाबाट एक सय ३०, सुर्खेतको प्रयोगशालाबाट १२ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ जनामा कोरोना पुष्टि भएको छ।

१८ जना कोरोनालाई जितेर घर फर्किएका छन् भने दुई जनाको मृत्यु भईसकेको छ। यस्तै एक जनालाई भने थप उपचारका लागि काठमाडौँ रेफर गरिएको छ। बाँकी एक सय २६ जनालाई भने सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न अस्पताल र क्वारेन्टिनमा राखिएको छ।

सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय कञ्चनपुर, डडेल्धुरा र दार्चुला जिल्लामा कोरोना भाइरसका संक्रमित बढुन थालेका छन्। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले सोमवार कञ्चनपुरमा मात्रै १९ जना संक्रमण पुष्टि भएको बताए।

उनका अनुसार पुनरवास नगरपालिकाका १३ जना पुरुष, भीमदत्त नगरपालिकाका दुई महिला, तीन पुरुष र शुक्लाफाँटा नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो। सूचना अधिकारी श्रेष्ठले दार्चुलामा पनि आज १० जनामा कोरोना पुष्टि भएको बताए।

जिल्लाको शैल्यशिखर नगरपालिकाका ८ जना पुरुष, लेकम गाउँपालिका र महाकाली नगरपालिकाका एक÷एक पुरुषमा पुष्टि भएको हो।

डडेल्धुराको परशुराम नगरपालिकाका तीन पुरुष, नवदुर्गा गाउँपालिकाका दुई पुरुष, अमरगढी नगरपालिकाका एक महिला र एक पुरुष गरी आज मात्रै सात जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।

यता कैलालीको जानकी गाउँपालिकाका एक जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका ४८ जना, कञ्चनपुरमा ३२, अछामका १५, डडेल्धुरामा १४, दार्चुलामा ११, डोटीका १०, बझाङमा ७, बैतडीमा ६ र बाजुराका तीन जनामा कोरोना पुष्टि भएको छ।

ताजा समाचार