सांसदको चिन्ता: स्थानीय उत्पादन बजारसम्म पुगेन, भारतीय उत्पादन गाउँगाउँमा

जेठ २५, काठमाण्डौ- प्रतिनिधिसभाका सदस्यले किसानको उत्पादन बजारमा जान नसकिरहेका बेला भारतबाट आयातित कृषिजन्य वस्तु भने गाउँगाउँमा पुगेको भन्दै चिन्ता प्रकट गर्नुभएको छ ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा ‘विनियोजन विधेयक २०७७’ माथि जारी छलफलमा भाग लिँदै सांसदहरुले देशको कृषि उत्पादनलाई बजारीकरण गर्न सरकारले विशेष योजना ल्याउनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का धर्मशीला चापागाईँले नेपाली किसानले उत्पादन गरेको वस्तु बजारमा पुग्दैन तर भारतको उत्पादन कसरी गाउँगाउँमा पुगिरहेको छ भनी प्रश्न गर्नुभयो । उहाँले कृषिको उत्पादन र बजारीकरणमा ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो ।

पशुपालन र कृषिलाई १२ कक्षासम्म पढ्न पाउने गरी ऐच्छिकरुपमा पाठ्यक्रममा राख्नुपर्नेमा उहाँले जोड दिनुभयो । सांसद चापागाईँले चियालाई सम्बोधन गर्नेगरी बजेट आउनुपर्नेमा त्यसो हुन नसक्दा पूर्वका धेरै किसानले चित्त दुखाएको जानकारी गराउनुभयो ।

नेकपाकै राधा ज्ञवालीले कोभिड–१९ को कहरलाई सम्बोधन गर्ने गरी बजेट आएको तर अझै स्वास्थ्य मन्त्रालयको बजेट कम भएको उल्लेख गर्नुभयो । उहाँले कृषिमल, बीउ समयमै उपलब्ध गराउन र तरकारी, फलफूल, मासु, अण्डा र दुधजन्य वस्तुको उचित बजारीकरण गर्नसमेत माग गर्नुभयो । राज्यले किसानको उत्पादनको संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले हिमाली क्षेत्रको खर्कलाई विकास गरी भेडापालनमार्फत ऊन उत्पादनतर्फ ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो । यस्तै फलफूल उत्पादन वृद्धि गर्नेतर्फ जोड दिन र दक्षिण तराईमा खाद्यान्न उत्पादनमा प्राथमिकता दिन उहाँले आग्रह गर्नुभयो ।

ऊर्जा खपतको वातावरण निर्माण गरी ऊर्जा उत्पादनमा सहुलियत कार्यक्रम ल्याउनसमेत उहाँले सरकारलाई आग्रह गर्नुभयो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पुष्पा भुसालले बजेटले सङ्कट मुक्तिका लागि अपेक्षाअनुसार काम गर्न नसक्ने बताउनुभयो । सदनमा विनियोजन विधेकमाथिको छलफलमा भाग लिँदै उहाँले सरकारले पूर्वाधारमा बढी बजेट विनियोजन भएको जिकिर गर्नुभयो ।

उहाँले कोरोनाको उपचार आरडीटी नभएको भनेर विश्व स्वास्थ्य सङ्गठनले भनिसकेको अवस्थामा सरकार किन आरडीटी किन्नतिर ध्यान केन्द्रित गरिरहेको छ? भनी प्रश्न गर्नुभयो ।

साठी प्रतिशतभन्दा बढी मानिस कृषिमा आश्रित रहेको मुलुक श्रमिक प्रधान देश भइरहेको भन्दै उहाँले कृषिमा आवश्यक बजेट उपलब्ध गराउन माग गर्नुभयो । यो वा त्यो नाममा कृषिको बजेट अन्य मन्त्रालयमा लगेर सरकारले कृषिको धज्जी उडाएको उहाँले आरोप लगाउनुभयो ।

भुसालले रोजगारी सिर्जना गर्नेतर्फ बजेट केन्द्रित गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

विनियोजन विधेयकअन्तर्गत कृषि तथा पशुपक्षी, अर्थ, श्रम तथा रोजगार, सञ्चार तथा सूचना प्रविधि, संस्कृति पर्यटन, उद्योग स्वास्थ्यलगायत शीर्षकमा सदनमा छलफल भएको थियो ।

सांसद विमला विश्वकर्मा, श्यामकुमार श्रेष्ठ, मायादेवी न्यौपाने, तिर्था गौतम, कमला रोका, हितबहादुर तामाङ, अञ्जना विसङ्खे, निरादेवी जैरु, प्रकाश रसाइली, छक्कबहादुर लामालगायतले विनियोजन विधेयकमाथि आआफ्नो धारणा राख्नुभएको थियो । बैठक आज बिहान ११ बजे फेरि बस्नेछ । उज्यालो अनलाइन

ताजा समाचार

This will close in 10 seconds