बनबासाबाट ४५ जनासँगै आएका थिए मुगुका कोरोना संक्रमित

बिहीवार भेटिएका मुगुका पहिलो कोरोना संक्रमित २७ वर्षीय युवा गएको ६ जेठमा ४५ जनासँगै महेन्द्रनगरको बनबास नाकाबाट नेपाल प्रवेश गरेको खुलेको छ ।

उनीहरू भारतबाट ६ जेठमा महेन्द्रनगर प्रवेश गरेपछि त्यहाँको एक विद्यालयमा बसेका थिए । उनीसँग आएका सबैको आरडीटी परिक्षण रिर्पोट नेगेटिभ आएपछि ७ जेठमा मुगु हिँडेका थिए ।

सोही दिनको राति १२ बजे उनीहरूले बाँकेको चिसापानी पुगेर खाजा खाएका थिए । त्यसपछि उनीहरू ८ जेठको साँझ मुगुको खत्याड गाउँपालिका पुगेको थियो । गाउँ पुगेपछि उनीहरूलाई गाँउपालिकाको वडा नं ५ हलेखाडा पाटनमा स्थापना गरेको क्वारेन्टिनमा राखिएको थियो ।

रातापानी प्राथमिक केन्द्रका प्रमुख डाक्टर किशोर खड्काका अनुसार उनीसँग आएका ४१ जना क्वारेन्टिनमा बसेका र सोरु गाउँपालिकाका बाँकी ५ जना आफ्नो घर गएका थिए । क्वारेन्टिनमा बसेका ४१ जनासँगै पछि थप ७ जनालाई पनि राखिएको थियो ।

उता सोरु गएका गाउँपालिका गएका ५ जनालाई सोही गाउँपालिकाले क्वारेन्टिनमा राखेको प्रमुख प्रशासकीय अधिकृत धान्य बुढाले हिमाललाई बताए ।

गाउँपालिकाले उनीहरूलाई घर नपुग्दै सिधै क्वारेन्टिनमा राखेको र क्वारेन्टिन गाउँभन्दा धेरै टाढाको लेकमा रहेकाले अरूमा कोरोना संक्रमणको सम्भावना नरहेको दाबी खत्याड गाउँपालिकाका स्वास्थ्य शाखा उप–संयोजक हरि बुढाको छ ।

संक्रमित युवालाई बिहीवार नै गाउँपालिकाको रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको आइसोलेसनमा राखिएको छ । युवाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

युवासँगै क्वारेन्टिनमा बसेका अन्य ४७ जना र सोरुको क्वारेन्टिनमा रहेका ५ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर निर्मल नगरकोटीले जानकारी दिए ।

जिल्लाभर रहेका ३४ वटा क्वारेन्टिनमा बिहीवारसम्म ५२२ जना रहेको र त्यसमध्ये ४०७ जनाको स्वाब पीसीआर परीक्षण गरिएकोमा १ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।-हिमालखबर

ताजा समाचार

This will close in 10 seconds