छोरीलाई बचाउन खोज्दा आफु पनि जलेर मरिन् -धनमाया

२२, जेठ विराटनगर ।

बिहीबार बिहान धरानमा भएको आगलागीमा परी दुईजनाको मृत्यु भएको छ ।

बिहान सवा ८ बजेबाट धरान उपमहानगरपालिका – १५ साम्पाङ टोल नरबहादुर श्रेष्ठको घरमा भएको आगलागीमा परेर ८७ वर्षीय धनमाया श्रेष्ठ र ५८ वर्षीय सीता श्रेष्ठको मृत्यु भएको हो ।

धनमाया र सीता आमा छोरी हुन । सीता सुस्तश्रवण थिइन् । दुई तल्ले घरको दोस्रो तल्लामा आमा छोरी बस्दै आएका थिए ।

आगलागी सुरु भएपछि कोठाभित्र रहेकी छोरीलाई निकाल्न खोज्दा दुवैजनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डीराज न्यौपानेले बताए ।

आगलागी सुरु भएपछि स्थानीयले ८७ वर्षीय आमा धनमायालाई घरबाट निकालेका थिए । तर छोरी कोठाभित्रै रहेको थाहा पाएपछि उनी आफै निकाल्न पसिन् ।

स्थानीयको भनाई उदृत गर्दै डीएसपी न्यौपानेले भने ‘एक्कासी आगो बढेका कारण बाहिर दुवैजना निस्कन सक्नु भएन् ।’


आगो करिब एक घण्टापछि नियन्त्रणमा आएको थियो । आगलागीको कारण भने खुल्न सकेको छैन् ।

आगलागी भएको घरमा भाडामा बस्नेहरु पनि रहेकाले क्षतिको विवरण संकलन गर्ने काम भइरहेको न्यौपानेले बताए ।

ताजा समाचार

This will close in 10 seconds