सुदूरपश्चिमका ४३ हजार भन्दा बढीलाई १२ सय ४७ क्वारेन्टिनमा राखियो

१९ जेठ, डोटी ।
सुदूरपश्चिम प्रदेशमा भारत तथा जिल्लाकै विभिन्न क्षेत्रबाट आएका ४३ हजार ६ सय ६२ जना क्वारेन्टिनमा राखिएका छन् ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले आइतबार साँझ जारी गरेको अद्यावधिक तथ्याङ्क अनुसार प्रदेशका नौ वटै जिल्लाका एक हजार दुई सय ४७ स्थानमा बनाइएका क्वारेन्टिनस्थलमा पाँच हजार पाँच सय तीन महिला र ३८ हजार एक सय ५९ पुरुष रहेका छन् ।

कैलालीमा सबैभन्दा बढी क्वारेन्टिनमा रहेका छन् । यस जिल्लामा दुई सय ८४ स्थानमा रहेका क्वारेन्टिनमा एक हजार आठ सय ४५ महिला र ९८४४ पुरुष गरी ११ हजार ६ सय ८९ जना क्वारेन्टिनमा रहेका छन् ।

क्वारेन्टिनमा रहेका व्यक्तिहरुको संख्याका हिसाबले डोटी दोस्रो स्थानमा रहेको छ । यस जिल्लामा एक सय ६८ स्थानमा रहेका क्वारेन्टिनमा सात हजार ९० जना रहेका छन् । यस्तै कञ्चनपुरका ९२ क्वारेन्टिनमा ६ हजार चार सय ९०, बैतडीका एक सय ११ स्थानमा पाँच हजार २१ र डडेल्धुराका एक सय २४ क्वारेन्टिनमा तीन हजार आठ सय ११ जना रहेका छन् ।

अछामका एक सय ६६ स्थानमा तीन हजार ६ सय ४५, बाजुराका एक सय २२ क्वारेन्टिनमा तीन हजार एक सय ५१, बझाङका एक सय ३३ क्वारेन्टिनमा एक हजार नौ सय एक र दार्चुलाका ४२ क्वारेन्टिनमा आठ सय ६४ जना रहेका मन्त्रालयद्वारा सार्वजनिक सूचनामा उल्लेख छ ।

यस्तै आइतबार साँझसम्मको तथ्याङ्कअनुसार प्रदेशमा कोरोना संक्रमितको संख्या २६ रहेको छ भने बाजुराका दुई बर्षीया बालिका कोरोनाको संक्रमणका कारण मृत्यु भएको पुष्टी भएको छ । प्रदेशका विभिन्न अस्पतालमा २७ जनालाई आइसोलेसनमा राखिएको छ ।

मन्त्रालयको अद्यावधिक सूचना अनुसार आइतबार साँझसम्म ६ हजार दुई सय ९६ मा पीसीआर र २२ हजार तीन सय ६ मा आरडीटी विधिबाट परीक्षण गरिएको छ । प्रदेशका विभिन्न जिल्लाका गरी ६ सय १६ जनाको नतिजा आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

ताजा समाचार

This will close in 10 seconds