कञ्चनपुर,

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर अम्मरराज जोशीले विश्वविद्यालयको भौतिक तथा प्रशासनिक सुधारमा सिंगो टिम लागीपरेको बताएका छन् ।

मंगलवार सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस परिसरमा खेलकुद सप्ताह समारोहलाई सम्बोधन गर्दै उपकुलपति जोशीले विश्वविद्यालयका सम्पूर्ण समस्याहरुको सम्बोधन चरणबद्ध रुपमा गर्दै जाने बताएका हुन् । जोशीले विश्व विद्यालयको सर्वोपरि हित र वृहत्तर विकासका लागि नै आफूहरु यहाँ रहेको र त्यो भूमिका निर्वाह गर्न कसैले पनि खुट्टा कमाउन नहुने बताए । विश्व विद्यालयका विभिन्न क्याम्पसहरुमा आफू नेतृत्वमा आएपछि सुधारोन्मुख कमदहरु चालेको तथापी कत्तिको परिणाम आउँछ भन्ने अहिले नै अनुमान नगरिएको बताए । विद्यार्थीहरुसँग भेटघाट गर्न पाउँदा आफू निकै खुसी भएको जोशीको भनाई छ ।

सकारात्मक सुझाव सल्लाहका लागि विद्यार्थीहरुले प्रत्यक्ष परोक्ष्य रुपमा राख्ने सवालहरुमा आफू कर्तव्यनिष्ठ भएर जवाफदेहि हुने बताए । सम्पूर्ण कर्मचारी र प्राध्यापकहरुको साझेदारी तथा समन्वयबाट मात्रै विश्व विद्यालयको गति सुधार हुनेमा उनको जोड छ । पछिल्लो समय विद्यावारिधि र एम फिल स्तरको अध्ययन अध्यापन, पाँच वर्षे कानुन विषयको अध्ययन अध्यापनको यसै शैक्षिक सत्रमा थालनी भएको बताउँदै विश्वविद्यालयलाई अनुसन्धानमूलक बनाउँदै लैजान सकिने बताए ।
भौतिक संरचना निर्माण, कक्षा कोठा व्यवस्थापन तथा प्राविधि मैत्री शिक्षण पद्धति अवलम्बन गर्न आईसिटि टेन्टर स्थापना गर्न तयारी भैरहेको उनको भनाई रहेको छ । कैलाली बहुमुखी क्याम्पसमा नयाँ प्रोग्राम संचालन भैरहेको जानकारी दिए । विद्यार्थीहरु नै सबैको केन्द्रविन्दु भएको उल्लेख गर्दै उपकुलपति जोशीले विद्यार्थीहरुका जायज मागहरुप्रति विश्वविद्यालय संवेदनशिल रहेको बताए । जोशी उपकुलपति भएपश्चात सु प वि मा विभिन्न सकारात्मक निर्णयहरु हुदै गईरहेको भन्दै प्रशंसा गरिने गरेको छ ।






