किशोर तामाङ /पुनर्वास : ज्येष्ठ नागरिकप्रति सम्मान प्रकट गर्नुका साथै स्थानीयस्तरमा खेलकुदको प्रवर्द्धन गर्ने उद्देश्यले कञ्चनपुरको पुनर्वास नगरपालिका–३, रामबस्तीमा तेस्रो ज्येष्ठ नागरिक स्मृति एवं सम्मान मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ।

श्री राम युवा क्लबको आयोजनामा तथा पुनर्वास नगरपालिका नगर कार्यपालिकाको कार्यालयको प्रवर्द्धनमा बुधबार देखि क्लबकै घरेलु मैदानमा प्रतियोगिता सुरु भएको हो। निर्वाचन क्षेत्र नं. १ स्तरीय पुरुष तथा खुला भेट्रान्स फुटबल प्रतियोगितामा पुनर्वास, बेलौरी, लालझाडी र बेलडाँडी क्षेत्रका गरी कुल २३ टोली सहभागी छन्। प्रतियोगिताको औपचारिक उद्घाटनसँगै पहिलो चरणका खेलहरू पनि सुरु भएका छन्।

आज भएको पहिलो चरणको खेल अन्तर्गत प्रतियोगिताको उद्घाटन खेलमा न्यु कालिका युवा क्लब, आईबीआरडीले विजयी सुरुवात गरेको छ। सिद्धार्थ युवा क्लब, बुद्धबस्तीविरुद्ध मैदानमा उत्रिएको न्यु कालिकाले ३–० गोल अन्तरको सहज जित निकाल्दै दोस्रो चरणमा स्थान सुरक्षित गरेको हो।

प्रतियोगिताअन्तर्गत बिहिबार बिहान १० बजे हुने पहिलो चरणको दोस्रो खेलमा अरनिको युवा क्लब, अरनिको बस्ती र न्यु पृथ्वी युवा क्लब, पृथ्वी बस्तीबीच प्रतिस्पर्धा हुनेछ प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा प्रतिनिधिसभाका निवर्तमान सदस्य तारा लामा तामाङले खेलकुदले युवालाई अनुशासित, स्वस्थ र सिर्जनशील बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
स्थानीयस्तरमा यस्ता प्रतियोगिता आयोजना हुनु सकारात्मक पक्ष भएको उल्लेख गर्दै उहाँले खेलकुदका माध्यमबाट युवाको प्रतिभा पहिचान र विकास गर्न सकिने धारणा राख्नुभयो। उहाँले भन्नुभयो, “खेलकुदको माध्यमबाट युवाहरूको प्रतिभा पहिचान र विकास गर्न सकिन्छ । यसले खेलकुद क्षेत्रको विकाससँगै समाजमा एकता र आपसी सद्भाव अभिवृद्धि गर्नसमेत ठूलो योगदान पुर्याउँछ।”
कार्यक्रमका सभाध्यक्ष तथा राम युवा क्लबका अध्यक्ष जिनबहादुर तामाङले खेलकुदको समग्र विकासका लागि खेलाडीमा अनुशासन अपरिहार्य रहेको बताउनुभयो। स्थानीय प्रतिभालाई उजागर गर्ने तथा युवालाई कुलतबाट जोगाएर सकारात्मक गतिविधिमा जोड्ने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिइएको उहाँको भनाइ थियो।
क्लबका सचिव लालमान तामाङले सञ्चालन गर्नुभएको उद्घाटन समारोहमा विशिष्ट अतिथिका रूपमा पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्मा, पुनर्वास नगरपालिका–३ का वडाध्यक्ष कृष्णबहादुर तामाङ, वडा नं. २ का वडाध्यक्ष डम्बर थापा, सुदूरपश्चिम प्रदेश फुटबल सङ्घका महासचिव काशीराम बोहरा, कञ्चनपुर जिल्ला फुटबल सङ्घका उपाध्यक्ष दाउत तामाङलगायत जनप्रतिनिधि, खेलकर्मी तथा स्थानीयको उपस्थिति रहेको थियो।
आगामी मंसिर २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुष फुटबल र खुला भेट्रान्स फुटबल गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ। आयोजकका अनुसार पुरुष फुटबलतर्फ विजेता टोलीले नगद १ लाख ७५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
उपविजेता टोलीले ८७ हजार ५०० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।यस विधामा प्रत्येक टोलीबाट १८ जना खेलाडी सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।
त्यसैगरी, खुला भेट्रान्स फुटबलतर्फ विजेता टोलीले नगद ३० हजार र उपविजेता टोलीले १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। भेट्रान्स विधामा सहभागी खेलाडीले २०८३ कात्तिक २० गतेसम्म ४० वर्ष उमेर पूरा गरेको हुनुपर्ने आयोजकले जनाएको छ। स्थानीयस्तरमा आयोजना भइरहेको यस प्रतियोगिताले पुनर्वाससहित दक्षिणी कञ्चनपुर क्षेत्रको फुटबल विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकले लिएको छ।










