कञ्चनपुर : भारत भ्रमण जान लागेका प्रधानमन्त्री बालेन शाहलाई नेकपा निकट अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दल बहादुर धामी(अबिरल)ले खुला पत्र लेखेका छन । अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष धामीले प्रधानमन्त्रीलाई यस्तो खुला पत्र लेखेकधा हुन ।

सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाह (बालेन) ज्यू,
नेपाल सरकार, सिंहदरबार, काठमाडौं।

विषय :महाकाली सिँचाइ आयोजना तेस्रो चरणको पानी सञ्चालन तथा निर्माण सम्पन्न गराउने सम्बन्धमा खुला पत्र।

सम्माननीय प्रधानमन्त्रीज्यू,
सर्वप्रथम तपाईंको आसन्न भारत भ्रमण सफल, उपलब्धिमूलक र राष्ट्रहितमा केन्द्रित रहोस् भन्ने शुभकामना व्यक्त गर्दछु।
प्रधानमन्त्रीज्यू, तपाईं भारत भ्रमणको तयारीमा रहँदा सुदूरपश्चिम, विशेषगरी कञ्चनपुर र कैलालीका हजारौँ किसानको एउटा पुरानो र गम्भीर सवाल तपाईंको ध्यानाकर्षण गराउन चाहन्छु।
त्यो सवाल हो — महाकाली सिँचाइ आयोजना तेस्रो चरण र टनकपुरबाट आउने पानी।
आर्थिक वर्ष २०६२र०६३ मा सुरु भएको राष्ट्रिय गौरवको यो आयोजना दुई दशक बितिसक्दा पनि अधुरो छ। कञ्चनपुरको ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८।८ किलोमिटर मूल नहर निर्माण सम्पन्न भएको छ। यस क्षेत्रमा १४ वटा शाखा नहर निर्माण सम्पन्न र ८ वटा अन्तिम चरणमा छन्। तर टनकपुरबाट नियमित पानी नआउँदा संरचना बनेर पनि किसानका खेत सुक्खै छन्।
ब्रह्मदेवदेखि कैलालीको गोदावरीसम्म ४८।२ किलोमिटर मूल नहर निर्माण गर्ने लक्ष्य छ। आयोजना सम्पन्न भए ३३ हजार ५२० हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ। हालसम्म करिब १० अर्ब रुपैयाँ खर्च भइसकेको र आयोजना पूरा गर्न थप ठूलो लगानी आवश्यक रहेको छ।
प्रधानमन्त्रीज्यू, महाकाली सन्धिअनुसार नेपालले टनकपुर ब्यारेजबाट हिउँदमा १ हजार क्युसेक र अन्य समयमा ३०० क्युसेक पानी पाउने व्यवस्था छ। तर पानी सञ्चालनको विषय अझै अनिश्चित रहनु दुःखद छ।
बजेट अभाव, मुआब्जा विवाद, वन क्षेत्रको स्वीकृति र निर्माणमा भएको ढिलासुस्तीले पनि आयोजना प्रभावित छ।
त्यसैले हाम्रो स्पष्ट आग्रह छ :
१. भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्विपक्षीय वार्तामा टनकपुरबाट महाकाली सिँचाइका लागि पाउनुपर्ने पानी तत्काल सञ्चालन गर्ने विषयलाई प्राथमिकताका साथ उठाइयोस्।
२. महाकाली सन्धिमा सुनिश्चित नेपालको जलअधिकार कार्यान्वयन गरियोस्।
३. निर्माण सम्पन्न २८।८ किलोमिटर मूल नहरमा तत्काल नियमित पानी सञ्चालन गरी किसानलाई सिँचाइ सुविधा उपलब्ध गराइयोस्।
४. बाँकी नहर, शाखा नहर तथा संरचनाको निर्माण समयसीमाभित्र सम्पन्न गर्न पर्याप्त बजेट सुनिश्चित गरियोस्।
५. मुआब्जा, वन तथा अन्य प्रशासनिक समस्या समाधान गर्न विशेष कार्ययोजना बनाइयोस्।
प्रधानमन्त्रीज्यू,
हामीलाई भारतसँगको सम्बन्धमा तनाव होइन, समानता, पारस्परिक सम्मान र राष्ट्रिय हितमा आधारित सहकार्य चाहिएको छ। तर मित्रता र कूटनीतिक सम्बन्धको नाममा नेपालको वैधानिक जलअधिकार ओझेलमा पर्नु हुँदैन।
तपाईंको यो भारत भ्रमण केवल औपचारिक भेटघाट, स्वागत र सम्झौतामा सीमित नहोस्। कञ्चनपुरका किसानले वर्षौंदेखि प्रतीक्षा गरेको महाकालीको पानी ल्याउने ऐतिहासिक अवसर बनोस्।
दिल्लीमा हुने वार्ताको उपलब्धि सुदूरपश्चिमका किसानका खेतमा बग्ने पानीले पनि मापन गर्न सक्नुपर्छ।
हामी आशा गर्छौँ, प्रधानमन्त्रीज्यूको यस भ्रमणबाट महाकाली सिँचाइ आयोजना तेस्रो चरणले नयाँ गति पाउनेछ र वर्षौंदेखिको किसानको सपना पूरा हुने बाटो खुल्नेछ।
महाकालीको पानी हाम्रो अधिकार हो, कृपया यो अधिकार सुनिश्चित गरेर फर्कनुहोस् ! सादर।
प्रेषक :दल ब.धामी(अबिरल) अध्यक्ष
अध्यक्ष : अखिल (क्रान्तिकारी), कञ्चनपुरका अध्यक्ष हुन ।










