शान्ति, सदाचार र सामाजिक सद्भाव निर्माणमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री भट्ट


धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री खगराज भट्टले विश्वमा बढ्दै गएको द्वन्द्व, अशान्ति र विभिन्न अभावका बीच शान्तिको कामना भइरहेको वर्तमान अवस्थामा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय तथा ओमशान्ति परिवारले समाजमा शान्ति, सदाचार र सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभएको छ।

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र धनगढीको ३५औँ वार्षिकोत्सव समारोहमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले विश्वमा विभिन्न विनाशकारी प्रवृत्ति बढ्दै गएको र समाजमा दया, करुणा तथा सद्भाव कमजोर हुँदै गएको अवस्थामा नयाँ दर्शन, विचार र सदाचारको विकास गर्दै समाजलाई सकारात्मक दिशामा अघि बढाउनु आजको आवश्यकता रहेको बताउनुभयो। उहाँले समाज रूपान्तरणका लागि यस संस्थाले पुर्‍याउँदै आएको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै संस्थाको सर्वाङ्गीण विकासमा प्रदेश सरकारको सकारात्मक भूमिका रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको विकास र समृद्धिका लागि विभिन्न क्षेत्रमा काम गरिरहेको उल्लेख गर्दै संघीयताका कारण स्थानीय आवश्यकता र नागरिकका अपेक्षाअनुसारका साना–ठूला विकास निर्माणका कामसमेत प्रदेशस्तरबाट गर्न सम्भव भएको बताउनुभयो। प्रदेश सरकारले निर्माण गरेका संरचना तथा उपलब्ध गराएका सेवा–सुविधाको उपयोग र प्रचारप्रसार गर्नुपर्नेमा जोड दिँदै उहाँले प्रदेशमा केही काम नै भएको छैन भन्ने भाष्य निर्माण गरिनु दुःखद भएको बताउनुभयो।

सरकारका कामप्रति हुने रचनात्मक आलोचना र खबरदारीलाई आफूले सधैँ सकारात्मक रूपमा लिने गरेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशलाई अझ सबल, सक्षम र अनुकरणीय बनाउन सबै क्षेत्र, संस्था तथा नागरिकको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो। उहाँले समाजमा सकारात्मक सोच, नैतिक मूल्य, आध्यात्मिक चेतना र आपसी सद्भावको विकास गर्दै समुन्नत समाज निर्माणमा सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्नेमा समेत जोड दिनुभयो।


Loading Viewer...

ताजा समाचार

spot_img