धार्मिक पर्यटन सर्किटमा जोडेर बडीकेदारको विकास र प्रवर्द्धन गरिनेछ : मुख्यमन्त्री भट्ट


धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बडीकेदारलाई पवित्र धार्मिक तथा पर्यटकीय स्थलका रूपमा विकास र प्रवर्द्धन गरिने बताउनुभएको छ । बडीकेदार पर्यटन समितिले आयोजना गरेको बडीकेदार मेलासम्बन्धी पत्रकार सम्मेलनमा प्रमुख अतिथिका रूपमा बोल्दै मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशका सबै धार्मिक तथा पर्यटकीय स्थललाई धार्मिक पर्यटन सर्किटमा जोडेर एकीकृत रूपमा विकास गर्ने प्रदेश सरकारको योजना रहेको बताउनुभयो । उहाँले त्यस क्षेत्रका जनताको भावना, चाहना र अपेक्षाअनुसार बडीकेदारको पूर्वाधार विकाससँगै यसको प्रचारप्रसार र प्रवर्द्धनलाई प्रदेश सरकारले प्राथमिकता दिने उल्लेख गर्नुभयो ।

धार्मिक तथा प्राकृतिक पर्यटनका दृष्टिले बडीकेदारमा पर्याप्त सम्भावना रहेको भन्दै उहाँले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सके यस क्षेत्रको आर्थिक उपार्जन र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गर्नुभयो । मुख्यमन्त्री भट्टले सुदूरपश्चिमका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरूलाई देवाटपी धार्मिक पर्यटन सर्किटमार्फत जोडेर विकास गर्ने योजना रहेको जानकारी दिनुभयो । धार्मिक आस्था, ऐतिहासिक महत्व र प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस्ता स्थलहरूको पूर्वाधार विकास, प्रचारप्रसार र संरक्षण गर्न सके सुदूरपश्चिमलाई महत्वपूर्ण धार्मिक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सकिने उहाँको भनाइ थियो ।

उहाँले बडीकेदार क्षेत्रमा लाग्ने आगामी मेलाको सफलताको शुभकामना व्यक्त गर्दै मेलाले यस क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय पहिचानलाई थप उजागर गर्ने विश्वास व्यक्त गर्नुभयो । बडीकेदार क्षेत्रको विकास र समृद्धिका लागि प्रदेश सरकारको प्रयाससँगै स्थानीय जनता, जनप्रतिनिधि, पर्यटन व्यवसायी तथा सम्पूर्ण सरोकारवालाको साथ र सहयोग आवश्यक रहेको मुख्यमन्त्री भट्टले बताउनुभयो । उहाँले धार्मिक पर्यटनको विकासलाई स्थानीय आयआर्जन, रोजगारी र आर्थिक समृद्धिसँग जोड्नुपर्नेमा जोड दिनुभयो ।


Loading Viewer...

ताजा समाचार

spot_img