कञ्चनपुर: कञ्चनपुरको बेलौरीका युवाहरुलाई अग्नी नियन्त्रण तथा उद्दार तालिम दिईएको छ । बेलौरी नगरपालिकाकै आयोजनामा शनिबारदेखि युवाहरुलाई अग्नी नियन्त्रण तथा उद्दार तालिम दिईएको हो । बेलौरी नगरपालिका विपद व्यवस्थापन शाखाका सम्पर्क व्यक्ति अशोक पाण्डेयले भविष्यमा हुनसक्ने आगलागीका घटनामा आयो नियन्त्रणदेखि जोखिममा परेका नागरिकको उद्दारका लागि तालिम दिन लागेको बताए ।

उनका अनुसार काठमाण्डौँ महानगरका नगर प्रहरी नायब उपरीक्षक(डिएसपी) किशोर कुमार भट्टराई प्रमुख प्रशिक्षक रहेका छन । नगर उपप्रमुख जोगराम चौधरीले तालिमबाट जोखिम न्यूनिकरण गर्दै मानिसको उद्दारमा मदन पुग्ने बताउँदै तालिममा सिकेका विषयबस्तु व्यवहारिक जिवनमा प्रयोग गर्न अनुरोध गरेका छन ।

निमत्त प्रमुख प्रशासकीय अधिकृत लोगराज जोशीले पनि तालिममा सिकेका विषयबस्तु व्यवहारमा उतार्न आग्रह गरेका छन । दुई दिने तालिममा २१ युवाहरुको सहभागिता रहेको छ । यस अघि पनि बेलौरी नगरपालिकाले विपद् जोखिम न्यूनिकरणका तालिम संचालन गर्दै आएको थियो ।











