महेन्द्रनगर: कञ्चनपुरको बेदकोट नगरपालिकामा चौथो मेयर कप फुटबल प्रतियोगिता–२०८३ सुरु भएको छ।

बुधबार बेदकोट नगरपालिका–२ को आयोजनामा बैजनाथ माध्यमिक विद्यालय, जडेपानीको खेलमैदानमा आयोजित मेयर कपको एक कार्यक्रमबीच नगरप्रमुख भोजराज बोहराले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो।

उद्घाटन समारोहमा प्रमुख अतिथि नगरप्रमुख बोहरालगायत विशिष्ट अतिथि र अतिथिहरूले रेफ्रीलाई फुटबल हस्तान्तरण गर्दै प्रतियोगिताको औपचारिक शुभारम्भ गर्नुभएको थियो।

प्रतियोगिताको पहिलो रोमाञ्चक खेलमा बेदकोट नगरपालिका वडा नं. ३ ले वडा नं. ६ लाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
प्रतियोगितामा नगरपालिकाका १० वडाका १२ टोलीको सहभागिता रहेको छ। सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको आयोजकले जनाएको छ। प्रतियोगिता लिग कम नकआउट प्रणालीका आधारमा सञ्चालन हुनेछ। प्रतियोगिताको समापन कार्तिक १७ गते हुनेछ।
प्रतियोगिताको विजेता टोलीले नगद रु. ७१ हजार १ सय ७१ सहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद रु. ४१ हजार १ सय ११ सहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ।
बेदकोट नगरपालिका–२ का वडा अध्यक्ष नरेशबहादुर सिंहको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा नगरप्रमुख भोजराज बोहरा प्रमुख अतिथि तथा नगर उपप्रमुख तुलसी जोशी, प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्य र कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव नितेश रावल विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा बेदकोट नगर खेलकुद समितिका अध्यक्ष प्रजापति भट्ट, बेदकोटका पूर्वनगरप्रमुख अशोक चन्द, विभिन्न वडाका अध्यक्षहरू, खेलाडी तथा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो।
प्रतियोगिताले नगरभित्रका खेलाडीहरूको प्रतिभा उजागर गर्न, खेलकुदको विकास गर्न तथा युवाहरूबीच आपसी सद्भाव र खेलभावना अभिवृद्धि गर्न योगदान पुग्ने अपेक्षा गरिएको छ।











