तालिमलाई रोजगारी र आम्दानीसँग जोड्ने शुक्लाफाँटाको योजना


कञ्चनपुर — तालिममा खर्च, तर रोजगारी र आम्दानीमा अपेक्षित उपलब्धि नदेखिने समस्यालाई चिर्दै सीपलाई उत्पादन, उद्यम र बजारसँग जोड्ने लक्ष्यसहित शुक्लाफाँटा नगरपालिका अघि बढेको छ। युवालाई आफ्नै ठाउँमा रोजगारी र स्वरोजगारको अवसर सिर्जना गर्ने तथा स्थानीय स्रोतसाधनमा आधारित उद्यम प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाले रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी एकीकृत सेवा प्रवाह कार्यविधि, २०८३ को प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ। नगरपालिकामा आयोजित छलफलमा समृद्धिको रणनीतिक खाका कार्यान्वयन, कार्यविधिको व्यवस्था र रोजगार तथा उद्यमशीलता प्रवर्द्धनमा स्थानीय तहको भूमिकाबारे चर्चा गरिएको थियो।

नगरपालिकाको रोजगार, सीप तथा उद्यमशीलता केन्द्रका सदस्यसचिव कृष्णप्रसाद भट्टले कार्यविधि र यसको कार्यान्वयनका विषयमा प्रस्तुति दिनुभएको थियो। दीगो आम्दानीद्वारा महिला उद्यमीहरूको सशक्तीकरण परियोजना’ को दोस्रो चरणको प्रगतिबारे निड्स नेपालका हेमन्त शाहीले जानकारी दिनुभयो। उहाँले परियोजनामार्फत सञ्चालित कार्यक्रमबाट लक्षित समुदाय, किसान तथा विपन्न वर्गका व्यक्तिहरूलाई व्यवसायमा संलग्न भई आर्थिक रूपमा सबल बन्न सहयोग पुगेको बताउनुभयो। नगर प्रमुख रणबहादुर महराले नगरपालिकासँगको समन्वयमा संस्थाले सञ्चालन गरिरहेका कार्यक्रमको प्रशंसा गर्दै सहकार्यलाई थप प्रभावकारी बनाउने बताउनुभयो। उहाँले सम्बन्धित शाखाहरूलाई निड्स नेपालसँग समन्वय गरी प्रविधिसहितको तालिम र कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना तयार पारेर आगामी बैठकमा पेस गर्न निर्देशन दिनुभयो।

‘तालिमलगायतका काम धेरै भएका छन्, अब कार्यान्वयनमा आउने मोडेलमा कार्यक्रम सञ्चालन गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘कृषि र उद्यमसँग जोडिने स्थानीय कच्चा पदार्थमा आधारित कार्यक्रम आवश्यक छन्।’ युवालाई स्वरोजगार बनाउने, उद्योग तथा आयआर्जनका गतिविधि विस्तार गर्ने र स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने विषयमा नगरपालिका गम्भीर रहेको उहाँले बताउनुभयो। स्थानीय उद्यमी दीपकराज भट्टले स्थानीय उत्पादनको प्रवर्द्धन हुने गरी स्थानीय तहले नीति निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिनुभयो। सीप विकासका कार्यक्रमको प्रभावकारिता तालिममा सहभागीको सङ्ख्याले मात्र मापन नहुने कार्यक्रमका सहभागीहरुले उल्लेख गर्नु भयो । तालिमपछि कति व्यक्तिले व्यवसाय सुरु गरे, कति रोजगारी सिर्जना भयो र उनीहरूको आम्दानीमा कस्तो सुधार आयो भन्ने आधारमा उपलब्धि मूल्याङ्कन गर्न आवश्यक छ। आवश्यक प्रविधि, लगानी, बजार पहुँच र व्यावसायिक परामर्शको अभावमा तालिमबाट प्राप्त सीप व्यवहारमा उतार्न कठिन हुन सक्छ।

त्यसैले कार्यविधि कार्यान्वयन गर्दा स्थानीय बजारको माग, उपलब्ध कच्चा पदार्थ र युवाको रुचिअनुसार तालिम सञ्चालन गर्नु महत्त्वपूर्ण देखिने सहभागीहरुको भनाई थियो । कृषि उत्पादनको प्रशोधन, स्थानीय वस्तुको व्यावसायिक उत्पादन तथा साना उद्योगको विकासलाई प्राथमिकता दिन सके स्थानीय स्रोतसाधनको उपयोग बढाउनुका साथै आयातमा निर्भरता घटाउन र रोजगारी सिर्जना गर्न सहयोग पुग्न सक्ने बारे बैठकमा चर्चा गरिएको थियो । कार्यक्रमको नियमित अनुगमन, तालिमप्राप्त व्यक्तिलाई उद्यम सञ्चालनमा आवश्यक सहयोग र बजारसँगको सम्बन्ध विस्तार गर्न सके मात्र सीप विकासका कार्यक्रम दिगो आम्दानीको आधार बन्न सक्ने बताईएको छ । बैठकमा नगर उपप्रमुख कल्पना पन्त, प्रमुख प्रशासकीय अधिकृत बन्दना राई, सम्बन्धित शाखाका प्रमुख, स्थानीय व्यवसायी तथा उद्यमीहरूको सहभागिता रहेको थियो।


Loading Viewer...

ताजा समाचार

spot_img