कञ्चनपुर । महाकाली नदीमा रहेको ऐतिहासिक झोलुङ्गे पुलको एक भाग भााचिएर नदीमा खसेको घटनाप्रति नेपाली कांग्रेसका नेता रमेश लेखकले दु:ख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिक्रिया दिदै लेखकले भारत संगको यातायात सम्पर्क नभएको अवस्थामा जनजीवन निकै कठिन बनेको दोधारा चाँदनीलाई तत्कालीन अवस्थामा प्रत्यक्ष रुपमा भारतीय भू–भागसाग जोड्ने यो पुल दोधारा चाँदनी वा कञ्चनपुर मात्र नभई देशकै ऐतिहासिक सम्पदा भएको उल्लेख गरेका छन् । लेखकले कञ्चनपुरबाट २०५६ सालमा पहिलो पटक निर्वाचित भएपछि तत्कालीन प्रतिनिधि सभामा आफूले महाकाली नदीमा झोलुङ्गे पुल बनाएर दोधारा चाँदनी जोड्नुपर्ने कुरा उठाउदा कतिपय साथीहरुले ‘यो असम्भव कुरा’ भन्दै ठट्टा गरेको स्मरण गरेका छन् ।


उनका अनुसार त्यसै अवधिमा पुल निर्माणको काम अघि बढेर नेपाल सरकारको बजेट, नेपाली प्राविधिक र नेपाली निर्माणकर्ताबाट ऐतिहासिक लामो पुल निर्माण भएको थियो । उक्त पुल निर्माण पछि देशका अन्य स्थानमा पनि लामो झोलुङ्गे पुल निर्माण गर्ने प्रविधिको विकास सुरु भएको उनले बताएका छन् । लेखकले महाकालीको उक्त झोलुङ्गे पुल नेपालको झोलुङ्गे पुल विकासक्रमको इतिहास संग जोडिएको भन्दै यसको संरक्षण आवश्यक रहेको बताएका छन् ।

उनले नेपाल सरकार तथा सम्बन्धित सबै निकायलाई पुलको यथाशक्य चाँडो पुनर्निर्माण, मर्मत तथा सम्भार गर्न आग्रह गरेका छन् ।











