राजेन्द्रप्रसाद पनेरू/कञ्चनपुर — ‘एकतामा शक्ति, रेबिजबाट मुक्ति’ भन्ने नारासहित आज विश्व रेबिज दिवस मनाइँदैछ। रेबिजबाट हुने मानवीय मृत्यु रोक्न जनचेतना, कुकुरमा नियमित खोप र समयमै उपचारलाई प्राथमिकता दिनुपर्नेमा स्वास्थ्यकर्मीहरूले जोड दिएका छन्।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीका अनुसार रेबिज नियन्त्रणका लागि मानव, पशु तथा वातावरणीय स्वास्थ्य क्षेत्रसँगै सरकार, स्थानीय तह, गैरसरकारी संस्था र अन्य सरोकारवाला निकायबीच समन्वय आवश्यक छ। सन् २०३० सम्म कुकुरको टोकाइबाट हुने रेबिज मृत्यु शून्यमा झार्ने लक्ष्यका लागि सबै पक्ष एकजुट हुनुपर्ने उहाँले बताउनुभयो।

विश्व स्वास्थ्य संगठनका अनुसार मानिसमा हुने रेबिज संक्रमणमध्ये करिब ९९ प्रतिशत कुकुरको टोकाइबाट हुने गर्छ। समयमै आवश्यक खोप लगाएमा रेबिजबाट बच्न सकिने भएकाले कुकुरलाई नियमित खोप लगाउनु र कुकुरको टोकाइबाट जोगिनु प्रमुख रोकथामका उपाय हुन्।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. खगेन्द्र बमले कुकुर वा अन्य सम्भावित रेबिज संक्रमित जनावरले टोकेमा घाउलाई तत्काल साबुनपानीले सफा गरी सकेसम्म छिटो स्वास्थ्य संस्थामा पुगेर रेबिजविरुद्धको खोप लगाउन आग्रह गर्नुभयो।
प्रदेशमा आर्थिक वर्ष २०८२/८३ मा कुकुरको टोकाइपछि २६ हजार ५ सय ५५ जना र अन्य जनावरको टोकाइपछि ३ हजार ९ सय ८४ जना गरी ३० हजार ५ सय ३९ जनाले रेबिजविरुद्धको खोप लिएका छन्।
नेपालको रेबिज नियन्त्रणसम्बन्धी निर्देशिकाअनुसार घरमै पालिएको, नियमित खोप लगाएको वा तीन महिनाभन्दा कम उमेरको कुकुरले टोकेमा पनि स्वास्थ्य संस्थामा गई आवश्यक खोपबारे चिकित्सकीय सल्लाह लिनुपर्छ। रेबिज संक्रमित जनावरको दूध वा दुग्धजन्य पदार्थ सेवनबाट भने रेबिज नसर्ने जनाइएको छ।
बालबालिकामा रेबिजको जोखिम बढी हुने भएकाले विद्यालयस्तरमै कुकुर तथा अन्य जनावरको टोकाइ, प्राथमिक उपचार र रेबिज रोकथामबारे सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने जोशीको भनाइ छ।
रेबिजको निगरानी प्रणाली सुदृढ गर्ने, घरपालुवा तथा सडक कुकुरलाई नियमित खोप दिने र समुदायस्तरमा सचेतना बढाउने कार्यलाई प्रभावकारी बनाउन सके सन् २०३० सम्म रेबिजका कारण हुने मृत्यु शून्यमा झार्ने लक्ष्य हासिल गर्न सकिने उहाँले बताउनुभयो।










