— जगन्नाथ आत्रेय
भूमिका
कुनै भूगोलको वास्तविक परिचय उसको नक्सा, नदी, पहाड र सीमाले मात्र दिँदैन; त्यस भूगोलमा पुस्तौँदेखि मानिसले प्रकृतिलाई कसरी पढे, ऋतुलाई कसरी पहिचान गरे, वर्षालाई कुन–कुन नाम दिए, अन्नको अभावलाई कसरी झेले र विपद् आउनुअघि कसरी तयारी गरे भन्ने कुराले पनि दिन्छ। यस दृष्टिले गाउँघरका पुराना शब्दहरू सामान्य शब्दावली होइनन्; ती प्रकृतिसँगको दीर्घ अनुभवबाट निर्मित लोकज्ञानका संक्षिप्त अभिलेख हुन्। करिब तीन–चार दशकअघिसम्म हाम्रोतिर भदौ महिनामा लगातार हप्ता दिनसम्म पर्ने झरीलाई ‘सतरति’ भनिन्थ्यो। मकै पाक्ने, भदौरे आरू पाक्ने र पुरानो अन्न सकिँदै नयाँ अन्न भित्रिन बाँकी रहने संवेदनशील समय पनि यही थियो। सतरतिको बीचमा केही बेर पानी रोकिँदा त्यसलाई ‘छिनकिटो’ भनिन्थ्यो र त्यो छोटो समय गाउँलेका लागि प्रकृतिले दिएको कामको झ्याल हुन्थ्यो। पानी थामिएको अवस्थालाई ‘बिदो’ भनिन्थ्यो। आरू फुल्ने र पाक्ने समयलाई ‘आरूफुलाइ–आरूपकाइ’ भनिन्थ्यो। लामो झरी, चिसो मौसम वा ठूला चाडपर्वका लागि दाउरा, पिरोल, स्याउला–सोत्तर, सागपात, लत्ताकपडा, अनाज, बीउबिजन, झरो, नुनगुड आदि पहिले नै जोहो गर्ने कामलाई ‘टाँजो गर्नु’ भनिन्थ्यो। यी शब्दलाई एकै ठाउँमा राखेर हेर्दा एउटा गहिरो तथ्य उद्घाटित हुन्छ—पुरानो कृषि समाजको भाषा आफैँमा मौसम विज्ञान, कृषि–पात्रो, खाद्यसुरक्षा, श्रम–विनिमय, जोखिम व्यवस्थापन र सामुदायिक अर्थतन्त्रको मौखिक अभिलेख रहेछ।
सतरति : झरी मात्र होइन, कृषि जीवनको परीक्षा सतरति लगातार हप्ता दिनसम्मजस्तो पर्ने झरीको लोकनाम थियो। विशेषतः तीन–चार दशकअघिसम्म भदौमा यस्तो झरी पर्ने गरेको स्थानीय स्मृति छ। त्यसबेला खेतबारीमा मकै पाक्दै हुन्थ्यो र भदौरे आरू पनि पाक्ने समय हुन्थ्यो। यसकारण सतरति एउटा सामान्य मौसमीय घटना थिएन। यसले एकैपटक कृषि उत्पादन, खाद्यसुरक्षा, पशुपालन, इन्धन, आवतजावत र घरायसी श्रमलाई प्रभावित पार्थ्यो।

लामो झरीमा बारीमा जान कठिन हुन्थ्यो, दाउरा भिज्ने जोखिम हुन्थ्यो, पशु व्यवस्थापन चुनौतीपूर्ण हुन्थ्यो र घरमा रहेको अन्न तथा इन्धनको वास्तविक परीक्षा हुन्थ्यो। त्यसैले सतरति आउनुअघि गरिएको तयारी परिवारको सुरक्षासँग जोडिन्थ्यो। छिनकिटो : झरीभित्र खुलेको कामको क्षण सतरति परेको बेला केही बेरका लागि वर्षा रोकिँदा त्यसलाई छिनकिटो भनिन्थ्यो। यो पूर्ण रूपमा मौसम खुलेको अवस्था थिएन; वर्षाले दिएको छोटो विश्राम मात्र थियो। तर गाउँलेका लागि त्यो विश्राम थिएन—अवसर थियो। छिनकिटो भयो कि कसैले बाख्रा खोल्थ्यो, कसैले दाउरा वा पिरोल अर्थात् सुकेका सल्लाका पात धन्क्याउँथ्यो, कसैले बारीबाट मकै तोडेर ल्याउँथ्यो, कसैले आवश्यक वस्तु खोजेर घर भित्र्याउँथ्यो। यसले ग्रामीण समयबोधको एउटा अद्भुत पक्ष देखाउँछ। त्यहाँ कामका लागि घडीको निश्चित समय कुर्ने सुविधा थिएन। प्रकृतिले जति समय दियो, त्यति नै समयलाई काममा रूपान्तरण गर्नुपर्थ्यो। छिनकिटो त्यसैले वर्षाको बीचमा खुलेको श्रमको आकस्मिक झ्याल थियो।
बिदो : पानी थामिँदा चल्ने जीवन बिदो भन्नाले वर्षा बन्द भएको वा पानी थागेको समय बुझिन्थ्यो। छिनकिटो छोटो अन्तरालको संकेत हो भने बिदो तुलनात्मक रूपमा पानी थामिएको अवस्थाको लोकबोध हो।
बिदोमा गाउँलेहरूले रोकिएका काम समात्थे। पानी फेरि पर्न सक्ने भएकाले उपलब्ध समयको अधिकतम उपयोग गरिन्थ्यो।
यसरी हेर्दा पुरानो ग्रामीण जीवनमा समयको मापन घडीले मात्र गर्दैनथ्यो। आकाश, पानी, माटो र ऋतु नै जीवनको घडी थिए।
आरूफुलाइ–आरूपकाइ : वनस्पतिको चक्रभित्र लुकेको भोकको इतिहास
आरूफुलाइ–आरूपकाइ आरू फुल्ने र पाक्ने समयको स्थानीय संकेत हो। तर यसको सामाजिक अर्थ वनस्पतिको जैविक चक्रभन्दा धेरै गहिरो छ। आरू पाक्ने समय धेरै विपन्न किसान परिवारका लागि पुरानो अन्न सकिँदै जाने र नयाँ अन्न पाकेर घरमा नआइसकेको संक्रमणकाल हुन्थ्यो। भकारी रित्तिँदै जान्थ्यो, खेतमा नयाँ अन्न उभिएको हुन्थ्यो, तर त्यसले तत्काल भान्सा चलाउन सक्दैनथ्यो।
यही समय भोकमरीको जोखिम बढ्ने गर्थ्यो। यस्तो अवस्थामा ऐचोपैचो र साँटोजस्ता सामाजिक–आर्थिक व्यवहारले परिवारको गुजारा चलाउन सहयोग गर्थे।
यस अर्थमा आरूफुलाइ–आरूपकाइ एउटा फलको ऋतु मात्र होइन; कृषि समाजको खाद्यसंकटको संवेदनशील सीमा पनि थियो।
लोकमौसम विज्ञान : उपकरणविहीन तर अनुभवसम्पन्न ज्ञान
आधुनिक मौसम विज्ञानको विकास नहुँदा गाउँलेहरू मौसमबारे अनभिज्ञ थिए भन्ने बुझाइ सही हुँदैन। उनीहरूसँग आधुनिक उपकरण थिएनन्, तर पुस्तौँको अनुभवबाट बनेको प्राकृतिक संकेत पढ्ने ज्ञान थियो।
बादलको रूप, हावाको दिशा, वर्षाको निरन्तरता, तापक्रम, वनस्पतिको अवस्था, पशुपक्षीको व्यवहार तथा ऋतुको परम्परागत चक्र आदिबाट मौसमको अनुमान गरिन्थ्यो। यसमा ज्योतिषीय मान्यता पनि जोडिएको थियो।
यसलाई आधुनिक मौसम विज्ञानसँग बराबरीमा राख्नु वैज्ञानिक दृष्टिले उचित हुँदैन। तर त्यस्तो ज्ञानलाई केवल अन्धविश्वास भनेर अस्वीकार गर्नु पनि उचित हुँदैन, किनकि त्यसमा दीर्घकालीन प्राकृतिक अवलोकनबाट बनेको अनुभवजन्य ज्ञान मिसिएको थियो।
आज उपग्रह, राडार, कम्प्युटर मोडेल र आधुनिक प्रविधिले मौसमको पूर्वानुमान गर्न सकिन्छ। त्यसबेला भने मानिसहरूले प्रकृति नै आफ्नो सूचना–प्रणाली बनाएका थिए।
मौसमी फेरबदल र लोकस्मृति
पुरानो पुस्ताको अनुभवमा भदौमा पर्ने सतरति अहिले पहिलेभन्दा करिब १५ दिनदेखि एक महिनासम्म पछि सरेको जस्तो देखिन्छ। यसको अर्थ स्थानीय मौसमी चक्रमा परिवर्तन अनुभूत भइरहेको छ भन्ने हो।
तर यहाँ वैज्ञानिक सावधानी आवश्यक छ। केवल स्थानीय स्मृतिका आधारमा जलवायु परिवर्तनको निश्चित निष्कर्ष निकाल्न सकिँदैन। त्यसका लागि दीर्घकालीन वर्षा अभिलेख, तापक्रम, कृषि पात्रो र वातावरणीय तथ्याङ्कको अध्ययन आवश्यक हुन्छ।
यद्यपि लोकस्मृतिलाई बेवास्ता गर्न मिल्दैन। यस्ता अनुभवहरू वैज्ञानिक अनुसन्धानका लागि महत्त्वपूर्ण प्रारम्भिक संकेत र अनुसन्धान–प्रश्नका स्रोत बन्न सक्छन्।
टाँजो : विपद् आउनुअघि गरिने लोकपूर्वतयारी
ठूलो झरी, अत्यन्त चिसो मौसम वा ठूला चाडपर्व आउनुअघि आवश्यक सामग्री समयमै जम्मा गरेर राख्ने प्रचलनलाई टाँजो गर्नु भनिन्थ्यो।
टाँजोमा स्याउला–सोत्तर, दाउरा, सागपात, लत्ताकपडा, अनाज, बीउबिजन, झरो, नुनगुड आदि आवश्यक वस्तु पर्थे।
यसको मूल दर्शन सरल थियो—
आवश्यकता आएपछि खोज्ने होइन, आवश्यकता आउनुअघि तयार हुने।
आजको भाषामा यसलाई risk management, preparedness, food security र buffer stock जस्ता अवधारणासँग तुलना गर्न सकिन्छ। तर गाउँले समाजले यसको अभ्यास कुनै आधुनिक शब्दावलीबिना नै गरेको थियो।
टाँजो त्यसैले वस्तु जम्मा गर्ने काम मात्र थिएन; त्यो परिवारको खाद्य, ऊर्जा र जीवन सुरक्षाको परम्परागत प्रणाली थियो।
दाउरा, पिरोल र स्याउला : ऊर्जा सुरक्षाको लोकविज्ञान
लामो झरी र चिसो मौसममा घरभित्र खाना पकाउन र ताप कायम राख्न दाउरा, पिरोल र स्याउला–सोत्तरको महत्त्व थियो।
पिरोल अर्थात् सुकेका सल्लाका पातसमेत उपयोगी इन्धनका रूपमा संकलन गरिन्थ्यो। सतरतिको छिनकिटोमा मानिसहरू पिरोल र दाउरा धन्क्याउन दौडिनुको अर्थ यही थियो—प्रकृतिले दिएको छोटो समयलाई आगामी दिनको ऊर्जा सुरक्षामा बदल्नु।
आज ऊर्जा सुरक्षा विद्युत्, ग्यास र पेट्रोलियमसँग जोडिन्छ। पुरानो कृषि समाजमा भने घरको ऊर्जा सुरक्षा कति दाउरा, पिरोल र स्याउला छ भन्ने कुरासँग जोडिएको थियो।
ऐचोपैचो : सम्बन्धमा आधारित ग्रामीण अर्थतन्त्र
नगदको पहुँच सीमित भएको कृषि समाजमा जीवन केवल पैसाले चल्दैनथ्यो। ऐचोपैचो त्यही समाजको सामाजिक अर्थतन्त्रको आधार थियो।
कसैलाई आज अन्न चाहियो भने अर्कोले दियो। कसैलाई खेतमा श्रम चाहियो भने छिमेकीले सहयोग गर्यो। पछि अवसर आउँदा त्यो सहयोग फर्काइन्थ्यो।
यसरी ग्रामीण समाजमा श्रम, अन्न, वस्तु र सम्बन्ध नै आर्थिक पूँजी थिए।
आज बैंकले नगद ऋण दिन्छ; त्यसबेला समाजले सम्बन्ध र विश्वासका आधारमा श्रम तथा अन्नको सहारा दिन्थ्यो।
साँटो : विनिमयको सामाजिक स्वरूप
साँटो पनि नगदविहीन वा सीमित नगद अर्थतन्त्रको महत्वपूर्ण आधार थियो। वस्तुको बदलामा वस्तु, श्रमको बदलामा श्रम वा आवश्यकताअनुसार पारस्परिक सहयोग गर्ने प्रचलनले बजारमा निर्भरता कम गर्थ्यो।
यसको विशेषता थियो—आर्थिक सम्बन्ध सामाजिक सम्बन्धबाट अलग थिएन।
आधुनिक बजारमा मूल्य मुख्यतः पैसाले निर्धारण गर्छ; परम्परागत ग्रामीण अर्थतन्त्रमा धेरैपटक सम्बन्ध र विश्वासले पनि मूल्यको भूमिका निर्वाह गर्थे।
बैकर : अन्नमा मापन गरिएको श्रममूल्य
काम गरेबापत अन्न दिने प्रचलनमा बैकर शब्द प्रयोग हुन्थ्यो। स्थानीय स्मृतिअनुसार चार नाली अन्नसम्म बैकरका रूपमा दिने चलन थियो।
यसले कृषि अर्थतन्त्रको एउटा महत्वपूर्ण विशेषता देखाउँछ—श्रमको मूल्य पैसा मात्र थिएन; अन्न पनि मूल्यको एकाइ थियो।
अन्न त्यतिबेला खाद्यवस्तु मात्र थिएन। त्यो—
पारिश्रमिक,
विनिमयको माध्यम,
सामाजिक सुरक्षाको आधार,
बीउको स्रोत,
र परिवारको भविष्यको ग्यारेन्टी
थियो।
त्यसैले भकारी भरिनु भनेको पेट भर्ने अन्न मात्र जम्मा हुनु होइन; परिवारको आर्थिक सुरक्षा बलियो हुनु पनि थियो।
ऋतुको लोकपात्रो : फूल, फल, अन्न र पानी
आधुनिक पात्रोले गते, महिना र वर्ष गन्छ। कृषि समाजको लोकपात्रोले भने प्रकृतिका घटना गन्थ्यो।
मकै पाक्यो—एउटा समय आयो।
आरू पाक्यो—अर्को समय आयो।
अन्न सकिन थाल्यो—संकटको संकेत आयो।
सतरति पर्यो—लामो झरी सुरु भयो।
छिनकिटो भयो—काम गर्ने अवसर आयो।
बिदो भयो—रोकिएको काम समात्ने समय आयो।
ठूला चाड आए—टाँजो गर्ने बेला आयो।
यसरी ग्रामीण समाजको पात्रो फूल, फल, अन्न, पानी, बादल, माटो, श्रम र चाडपर्वको संयुक्त पात्रो थियो।
लोकशब्दभित्रको पर्यावरणीय ज्ञान
यी शब्दलाई केवल भाषावैज्ञानिक सामग्रीका रूपमा हेर्दा तिनको आधा अर्थ मात्र खुल्छ। तिनभित्र परम्परागत पर्यावरणीय ज्ञान पनि सञ्चित छ।
सतरति — वर्षा, कृषि र जोखिम।
छिनकिटो — वर्षाबीचको अवसर र श्रम।
बिदो — पानी थामिनु र कामको समय।
आरूफुलाइ–आरूपकाइ — जैविक चक्र र खाद्य संक्रमणकाल।
टाँजो — पूर्वतयारी र खाद्य–ऊर्जा सुरक्षा।
ऐचोपैचो — पारस्परिक सहयोग।
साँटो — वस्तु तथा श्रम विनिमय।
बैकर — अन्नमा मापन गरिएको श्रममूल्य।
यस अर्थमा स्थानीय शब्दावली लोकजीवनको ज्ञानकोष हो।
आधुनिकता र हराउँदै गएको सामुदायिक लचकता
आधुनिक विज्ञानले मौसमको पूर्वानुमानलाई अत्यन्त विकसित बनाएको छ। यातायातले दूरी घटाएको छ। बजारले आवश्यक वस्तु सहज बनाएको छ। नगद अर्थतन्त्रले विनिमयलाई सरल बनाएको छ। सञ्चार प्रविधिले सूचना तत्काल पुर्याएको छ।
यी आधुनिक उपलब्धिहरूलाई अस्वीकार गर्नुपर्ने प्रश्न होइन। प्रश्न अर्कै छ—आधुनिक सुविधासँगै परम्परागत सामुदायिक लचकता र स्थानीय ज्ञानका कुन पक्षलाई बचाउन सकिन्छ?
पहिले मौसमको संकेत सामूहिक रूपमा पढिन्थ्यो; अहिले मौसम एप हेरिन्छ।
पहिले छिमेकीको दाउरा–अन्नको अवस्थासमेत सामाजिक सरोकारको विषय हुन्थ्यो; अहिले बजारबाट किन्ने सुविधा छ।
पहिले ऐचोपैचो र साँटोले सम्बन्धलाई आर्थिक आधार दिन्थे; अहिले धेरैजसो काम नगदमा रूपान्तरण भएको छ।
पहिले टाँजो घरको संस्कार थियो; अहिले आवश्यक वस्तु बजारमा पाइन्छ भन्ने विश्वास बलियो छ।
यस परिवर्तनलाई ‘पहिले सबै राम्रो, अहिले सबै खराब’ भन्ने सरल निष्कर्षमा लैजानु उचित हुँदैन। तर आधुनिक बजार र प्रविधिले कमजोर बनाएको स्थानीय आत्मनिर्भरता, सामुदायिक सहयोग र प्राकृतिक संकेतप्रतिको संवेदनशीलतालाई पुनःसम्झनु आवश्यक छ।
हराउँदै गएका शब्दको अभिलेखीकरण
कुनै स्थानीय शब्द हराउनु भनेको शब्दकोशबाट एउटा शब्द हराउनु मात्र होइन; त्यससँग जोडिएको जीवनपद्धति, श्रमसंस्कृति, मौसमबोध र सामूहिक स्मृति पनि हराउनु हो।
‘छिनकिटो’ हराउँदा वर्षाको बीचमा अवसर खोज्ने समयबोध हराउँछ।
‘टाँजो’ हराउँदा विपद्अघि तयारी गर्ने लोकदर्शन कमजोर हुन्छ।
‘बैकर’ हराउँदा अन्नमा मापन गरिने श्रममूल्यको इतिहास हराउँछ।
‘आरूफुलाइ–आरूपकाइ’ हराउँदा फलको जैविक चक्रसँग जोडिएको खाद्यसंकटको ग्रामीण स्मृति हराउँछ।
त्यसैले यस्ता शब्दलाई केवल शब्दार्थसहित शब्दकोशमा राखेर पुग्दैन। तिनको शब्दार्थ, उच्चारण, प्रयोग, ऋतु, कृषि–सन्दर्भ, मौसमीय अर्थ, लोकविश्वास, स्थानीय भूगोल, सामाजिक प्रयोग र भाषिक व्युत्पत्ति समेत अभिलेख गर्नुपर्छ।
लोकमौसम शब्दकोशको आवश्यकता
यस्ता शब्दहरूको व्यवस्थित संकलनबाट ‘लोकमौसम तथा कृषि शब्दकोश’ निर्माण गर्न सकिन्छ।
यसका लागि विशेषतः ज्येष्ठ पुस्ताका कृषक, महिला, गोठाला, परम्परागत ज्योतिषी, वनसँग प्रत्यक्ष सम्बन्ध भएका समुदाय, पुराना शिक्षक तथा स्थानीय जानकारसँग मौखिक इतिहास संकलन गर्न आवश्यक छ।
हरेक शब्दसँग सम्बन्धित—
१. स्थानीय उच्चारण,
२. अर्थ,
३. प्रयोग हुने वाक्य,
४. ऋतु तथा समय,
५. कृषि–सम्बन्ध,
६. मौसमीय संकेत,
७. लोकविश्वास,
८. अन्य क्षेत्रका समान वा भिन्न शब्द,
९. पुरानो पुस्ताको मौखिक प्रमाण,
१०. सम्भावित भाषिक व्युत्पत्ति
अभिलेख गर्न सकिन्छ।
यसले स्थानीय भाषा संरक्षण मात्र गर्दैन; जलवायु परिवर्तन, कृषि इतिहास, लोकअर्थतन्त्र र सांस्कृतिक मानवशास्त्रका लागि पनि उपयोगी आधारसामग्री तयार गर्न सक्छ।
निष्कर्ष : शब्दमा बाँचेको एउटा सभ्यता
सतरति केवल झरी थिएन।
छिनकिटो केवल पानी रोकिएको क्षण थिएन।
बिदो केवल वर्षा थामिएको अवस्था थिएन।
आरूफुलाइ–आरूपकाइ केवल फल पाक्ने ऋतु थिएन।
टाँजो केवल सामान जम्मा गर्नु थिएन।
ऐचोपैचो र साँटो केवल लेनदेन थिएनन्।
बैकर केवल अन्नमा दिइने ज्याला थिएन।
यी सबै मिलेर प्रकृतिको अनिश्चितताबीच जीवनलाई टिकाइराखेको एउटा लोकसभ्यताको संरचना निर्माण गर्थे—जहाँ मौसम पढिन्थ्यो, ऋतु पहिचानिन्थ्यो, अन्नको अभाव अनुमान गरिन्थ्यो, आवश्यक वस्तु टाँजो गरिन्थ्यो, श्रमको विनिमय हुन्थ्यो र छिमेकीपन सामाजिक सुरक्षाको एउटा अदृश्य जाल बन्थ्यो। आधुनिक विज्ञानले मौसमलाई उपग्रह, राडार र कम्प्युटर मोडेलबाट पढ्न थालेको छ; पुरानो समाजले आकाश, माटो, वनस्पति, पशुपक्षी र पुस्तौँको अनुभवबाट पढ्थ्यो। आधुनिक अर्थतन्त्रले मूल्यलाई पैसामा मापन गर्छ; कृषि समाजले अन्न, श्रम र सम्बन्धमा पनि मूल्य खोज्थ्यो। आधुनिक विपद् व्यवस्थापनले पूर्वतयारीका योजना बनाउँछ; गाउँले समाजले त्यसको घरेलु र सामाजिक रूप *‘टाँजो’*मा अभ्यास गरिसकेको थियो। त्यसैले हाम्रा स्थानीय शब्दहरू विगतको बोली मात्र होइनन्—विगतको बुद्धि पनि हुन्।
ती शब्दलाई अभिलेख गर्नु भनेको पुरानो भाषा जोगाउनु मात्र होइन; प्रकृतिको अनिश्चितताबीच सहअस्तित्व, श्रम, मितव्ययिता, पूर्वतयारी र पारस्परिक सहयोगबाट जीवन चलाउन सिकेको पुस्ताको सामूहिक स्मृति जोगाउनु हो।
सायद त्यसैले आज फेरि ती हराउँदै गएका शब्दहरूतिर फर्केर हेर्नुपर्छ—
सतरति परेपछि छिनकिटो कहिले आउँछ भनेर आकाश नियाल्ने त्यो आँखातिर,
छिनकिटो आउनासाथ काममा निस्कने त्यो चटारोतिर,
र झरी आउनुअघि नै टाँजो गरिसक्ने त्यो लोकविवेकतिर।
त्यहाँ केवल एउटा पुरानो गाउँको कथा छैन; प्रकृतिसँग सम्झौता गरेर होइन, प्रकृतिलाई बुझेर बाँच्न सिकेको एउटा सभ्यताको स्मृति छ।











