विद्यालयमै पुग्दै ‘जातीय भेदभाव २’, सचेतनासँगै सामाजिक सहयोगको अभियान


हेमा भट्ट /धनगढी – जातीय विभेदविरुद्ध सामाजिक चेतना फैलाउने उद्देश्यसहित निर्माण गरिएको नेपाली चलचित्र ‘जातीय भेदभाव २’ धनगढीका विद्यालयमा विशेष प्रदर्शन हुने भएको छ। प्याट टिम कलेक्सन फिल्म्सको आयोजनामा निर्माण भएको चलचित्र आउँदो शुक्रबारदेखि धनगढीका विभिन्न विद्यालय तथा शैक्षिक संस्थामा प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ। विद्यालयमै चलचित्र प्रदर्शन गर्ने अवधारणासहित अघि बढाइएको अभियानले विद्यार्थीमार्फत जातीय विभेद, सामाजिक समानता र मानवीय व्यवहारका विषयमा सकारात्मक सन्देश प्रवाह गर्ने लक्ष्य राखेको छ।

चलचित्रमा अमृत थापा मुख्य अभिनेता र पूजा अयेर मुख्य अभिनेत्रीका रूपमा रहेका छन् भने निर्देशन सञ्जीव खड्काले गरेका छन्। चलचित्रले समाजमा अझै विद्यमान जातीय विभेद तथा त्यसबाट सिर्जित सामाजिक अवस्थालाई कथामार्फत प्रस्तुत गर्दै समानता र सामाजिक सद्भावको सन्देश दिने निर्माण टिमको भनाइ छ। यस प्रदर्शन अभियानलाई चलचित्र प्रदर्शनमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्वसँग पनि जोडिएको छ। आयोजकका अनुसार चलचित्रबाट संकलन हुने कुल टिकट रकमको ५ प्रतिशत आवश्यक परेका व्यक्तिलाई आर्थिक सहयोगका रूपमा प्रदान गरिनेछ।

चलचित्रको टिकट शुल्क प्रतिव्यक्ति रु. १५० निर्धारण गरिएको छ। धनगढीका इच्छुक विद्यालयले आफ्नै विद्यालय परिसरमा चलचित्र प्रदर्शन गर्न सक्नेछन्। विद्यालयले अनलाइन वा प्रत्यक्ष सम्पर्कमार्फत आफूलाई अनुकूल हुने मिति तय गर्न सक्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ। आयोजकले चलचित्रलाई मनोरञ्जनको माध्यम मात्र नभई विद्यार्थीमा सामाजिक चेतना अभिवृद्धि गर्ने अवसरका रूपमा लिन धनगढीका विद्यालय तथा शैक्षिक संस्थालाई आग्रह गरेको छ। सम्पर्क : Pat Team Collection Films फोन : ९७०४५३७८३०


Loading Viewer...

ताजा समाचार

spot_img