झलारी, कञ्चनपुर — संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ का अवसरमा शुक्लाफाँटा नगरपालिकाका युवाले सार्वजनिकस्थलमै चार घण्टा नेपालको संविधान वाचन गरेका छन्। संविधान दिवसलाई औपचारिक कार्यक्रममा मात्र सीमित नराखी नागरिकलाई संविधान पढ्न, बुझ्न र त्यसका विषयमा बहस गर्न प्रेरित गर्ने उद्देश्यले झलारी बजारमा संविधान वाचन गरिएको हो।

शुक्लाफाँटा नगरपालिका–६ स्थित झलारी बजारमा एनएमबी बैंक अगाडिको चौतारीमा असोज ३ गते साँझ ६ः३० बजेदेखि राति १०ः३० बजेसम्म संविधान वाचन गरिएको थियो। कार्यक्रममा नगरपालिकाका सूचना प्रविधि अधिकृत लोगराज भट्टले एक्लै करिब चार घण्टासम्म निरन्तर संविधान वाचन गर्नुभएको थियो।

सार्वजनिकस्थलमा गरिएको वाचन स्थानीय युवा, व्यवसायी तथा सर्वसाधारणका लागि संविधान प्रत्यक्ष रूपमा सुन्ने अवसर बनेको थियो। बजारमा किनमेल तथा आवतजावतका क्रममा रहेका नागरिकसमेत केही समय रोकेर संविधान वाचन सुनेका थिए।

आयोजकका अनुसार संविधानलाई केवल कानुनी दस्तावेजका रूपमा बुझ्नेभन्दा नागरिकका अधिकार, कर्तव्य, राज्य सञ्चालनका आधार र सामाजिक परिवर्तनको मार्गदर्शनका रूपमा बुझाउन कार्यक्रम आयोजना गरिएको हो। संविधान दिवसलाई उत्सवका रूपमा मनाउनेसँगै संविधान पढ्ने, बुझ्ने र व्यवहारमा आत्मसात् गर्ने संस्कारको विकास गर्नुपर्ने सन्देश कार्यक्रमले दिएको आयोजकको भनाइ छ।
कार्यक्रम सम्पन्न गर्न झलारी बजारका व्यवसायी तथा स्थानीय नागरिकले सहयोग गरेका थिए। व्यवसायीले साउण्ड सिस्टम, खाना, जुस, ब्यानरलगायत आवश्यक सामग्री उपलब्ध गराएका थिए। संविधानमा समयअनुकूल सुधार आवश्यक भए त्यसबारे निरन्तर अध्ययन, संवाद र बहस हुनुपर्ने धारणा राख्दै आयोजकले नागरिक र संविधानबीचको सम्बन्ध थप बलियो बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताएका छन्।










