फागुनमा स्थानीय तहकाे निर्वाचन गराउने तयारीमा निर्वाचन आयोग


कञ्चनपुर । निर्वाचन आयोगले आगामी फागुन अन्तिम साता स्थानीय तहको निर्वाचन गराउने गरी तयारी अघि बढाएको छ।

आयोगका आयुक्त राजीव सुब्बाका अनुसार स्थानीय तहका वर्तमान जनप्रतिनिधिको कार्यकाल सकिनुभन्दा दुई महिनाअघि नै निर्वाचन सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्था भएकाले आयोगले सोहीअनुसार तयारी थालेको हो।

आयुक्त सुब्बाले आयोगले निर्वाचनका लागि आवश्यक काम अघि बढाइरहेको बताउँदै अहिले मतदाता नामावली अद्यावधिक गर्ने काम भइरहेको जानकारी दिनुभयो।

“नियमसंगत रूपमा फागुनमा निर्वाचन गर्नुपर्छ। आयोगले आफ्नो काम सबै गरिरहेको छ। सरकारलाई भन्न मात्रै बाँकी छ,” उहाँले भन्नुभयो।

उहाँका अनुसार फागुनमा निर्वाचन हुने अवस्था आए माघमा पुनः मतदाता नामावली अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ। आयोगले वर्षमा दुई पटक मतदाता नामावली अद्यावधिक गर्दै आएको छ।

यस्तो छ कानुनी व्यवस्था

स्थानीय तह निर्वाचन ऐन, २०७३ अनुसार गाउँ सभा वा नगर सभाका सदस्यको निर्वाचन सम्बन्धित गाउँ सभा वा नगर सभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि गर्नुपर्ने व्यवस्था छ।

ऐनमा भनिएको छ, “सदस्यको निर्वाचन गाउँ सभा वा नगर सभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगाडि हुनेछ।”

नेपालमा पछिल्लो पटक २०७९ वैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन भएको थियो।

संविधानअनुसार स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल पाँच वर्षको हुन्छ। सोही संवैधानिक तथा कानुनी व्यवस्थाअनुसार आगामी स्थानीय तहको निर्वाचन फागुन अन्तिम सातासम्म सम्पन्न गर्नुपर्ने हुन्छ।


Loading Viewer...

ताजा समाचार

spot_img