कञ्चनपुर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रका मध्यवर्ती उपभोक्ता समिति तथा सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीलाई समूह व्यवस्थापन तथा सुशासनसम्बन्धी तालिम दिइएको छ । कनेक्ट परियोजनाको आयोजनामा तथा हिमाली प्रकृति र कनेक्ट परियोजनाको समन्वय तथा सहजीकरणमा सञ्चालन गरिएको तालिमले उपभोक्ता समितिलाई केवल वन संरक्षण गर्ने संस्थाका रूपमा नभई पारदर्शी, जवाफदेही र सहभागितामूलक ढंगले सञ्चालन हुने स्थानीय संस्थाका रूपमा विकास गर्ने विषयलाई जोड दिएको छ ।

तालिमको उद्घाटन गर्दै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर अर्जुनीका प्रमुख तथा निकुञ्जका संरक्षण अधिकृत राजेश लम्सालले मध्यवर्ती क्षेत्र र सामुदायिक वन संरक्षणमा उपभोक्ता समितिको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । संरक्षणका कामलाई प्रभावकारी बनाउन समिति र समूह व्यवस्थित, पारदर्शी तथा जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो । उहाँले वन्यजन्तु संरक्षण र समुदायको हितबीच सन्तुलन कायम गर्न उपभोक्ता समितिको संस्थागत क्षमता बलियो हुनुपर्ने बताउनुभयो । संरक्षणबाट समुदायले लाभ पाउने र समुदायको सहभागिताबाट संरक्षण प्रभावकारी हुने भएकाले दुवै पक्षबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा कनेक्ट परियोजनाका धिरेन्द्र चन्दले परियोजनाका उद्देश्य, गतिविधि र समुदायसँगको सहकार्यबारे जानकारी दिनुभयो। समुदायको क्षमता अभिवृद्धि गर्दै स्थानीयस्तरमै समस्या पहिचान र समाधानका लागि सक्षम बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । तालिमको सहजीकरण स्थानीय शासन विज्ञ बिसनदेव जोशीले गर्नुभएको थियो।

उहाँले समिति गठन गर्नु मात्र पर्याप्त नहुने, त्यसलाई प्रभावकारी ढंगले सञ्चालन गर्न स्पष्ट भूमिका, नियमित बैठक, पारदर्शी निर्णय र आर्थिक अनुशासन आवश्यक पर्ने विषयलाई व्यवहारिक उदाहरणसहित प्रस्तुत गर्नुभयो। जोशीले समूह तथा समितिको महत्व, फाइदा र भूमिका, बैठक व्यवस्थापन, निर्णय प्रक्रिया, प्रभावकारी समूह सञ्चालन तथा निर्णय कार्यान्वयन, आर्थिक पारदर्शिता, प्रतिवेदन तयार गर्ने विधि, पत्राचार गर्ने तौरतरिका र समूहको कारोबार व्यवस्थापनबारे प्रशिक्षण दिनुभयो।
त्यसैगरी समूहको उद्देश्य निर्धारण, नियमित सम्बन्ध र समन्वय, प्रभावकारी समितिका विशेषता, सहभागितामूलक निर्णय, पदाधिकारी तथा सदस्यको भूमिका, बैठक सञ्चालन, निर्णय कार्यान्वयन र समूहभित्र उत्पन्न हुने विवाद व्यवस्थापनका विषयमा समेत छलफल गराउनुभयो। सुशासनलाई कागजी प्रक्रिया मात्र नभई व्यवहारको विषय बनाउनुपर्नेमा जोड दिँदै जोशीले नेतृत्व क्षमता विकास, सुशासन, सदाचार प्रवद्र्धन, जवाफदेहिता र पारदर्शितालाई समितिको नियमित कार्यशैलीसँग जोड्नुपर्ने बताउनुभयो। उपभोक्ता समितिले गर्ने आर्थिक कारोबार, निर्णय र कार्यक्रमका विषयमा सदस्यलाई जानकारी गराउने तथा आय–व्ययको पारदर्शी अभिलेख राख्ने अभ्यासले समितिप्रति समुदायको विश्वास बढाउने उहाँको भनाइ थियो। सहभागीको सक्रिय सहभागितामा निर्णय गर्ने अभ्यासले समूहभित्रको विवादसमेत न्यूनीकरण गर्न सकिने उहाँले बताउनुभया े।
तालिममा त्रिशक्ति र सुनदेवी उपभोक्ता समितिअन्तर्गतका समूह तथा सामुदायिक वनका पदाधिकारीको सहभागिता रहेको थियो। तालिममा सहभागी पदाधिकारीले समिति सञ्चालनका क्रममा देखिने व्यवहारिक समस्या, बैठक व्यवस्थापन, आर्थिक कारोबार तथा निर्णय प्रक्रियाका विषयमा जिज्ञासा राखेका थिए। तालिमको समापनमा सुनदेवी उपभोक्ता समितिका अध्यक्ष भरतबहादुर विष्टले समितिका पदाधिकारीलाई संस्थागत रूपमा सक्षम बनाउन यस्ता तालिम उपयोगी भएको बताउनुभयो। समितिको नेतृत्वले मात्र सबै काम गर्नेभन्दा सदस्यको सहभागिता बढाएर पारदर्शी र सामूहिक निर्णयको अभ्यास गर्नुपर्ने उहाँको भनाइ थियो। उहाँले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्दै समितिको कामलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।










