युवा नेता ऐरको पहलमा दुई छात्रहरूलाई शिक्षामा पहुँच

बाजेबज्यैको सहारामा हुर्किरहेका दुई बालकलाई शिक्षाका लागि मासिक सहयोग


शुक्लाफाँटा— शुक्लाफाँटा नगरपालिका–१ का दुई बालकलाई शिक्षादीक्षा तथा खानपानमा सहयोग पुगोस् भन्ने उद्देश्यले पछिल्लो चार महिनादेखि नियमित आर्थिक सहयोग उपलब्ध गराइएको छ। आर्थिक अवस्था कमजोर भएका तथा अभिभावकको अभावमा बाजेबज्यैको सहारामा हुर्किरहेका योगेश विक र विष्णु विकलाई मासिक प्रतिव्यक्ति ५ हजार ५ सय रुपैयाँका दरले सहयोग उपलब्ध गराइएको हो।

शुक्लाफाँटा नगरपालिका–१ निवासी शेर विकका छोरा योगेश र विष्णु हाल क्रमशः कक्षा ९ र कक्षा ८ मा अध्ययनरत छन्। योगेश सुर्योदय माध्यमिक विद्यालयमा कक्षा ९ र विष्णु अनुपम विद्यालयमा कक्षा ८ मा अध्ययन गरिरहेका छन्। बालकहरूका बुबा शेर विकको करिब नौ वर्षअघि वैदेशिक रोजगारीका क्रममा मलेसियामा निधन भएको थियो। त्यसपछि उनीहरूकी आमाले पनि करिब सात वर्षदेखि दुवै बालकलाई छाडेर अन्यत्र गएपछि बालकहरू बाजेबज्यैको सहारामा हुर्किरहेका छन्। सीमित आर्थिक स्रोतका कारण उनीहरूको शिक्षादीक्षा, खानपान तथा दैनिक आवश्यकतामा कठिनाइ हुँदै आएको थियो।

शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थामा रहेका तथा आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई शिक्षाको अवसर दिलाउने उद्देश्यले नेपाली कम्युनिस्ट पार्टीका युवा नेता तथा वाईसीएल नेपालका केन्द्रीय नेता नवराज ऐरको पहलमा उनीहरूलाई सहयोग उपलब्ध गराइएको हो। ऐरले आफ्नो पहलमा विभिन्न विद्यालय, क्याम्पस तथा संघसंस्थासँग सहकार्य र समन्वय गर्दै शुक्लाफाँटा नगरपालिकाभित्र शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थामा रहेका तथा आर्थिक रूपमा कमजोर बालबालिकालाई अध्ययनमा सहयोग गर्दै आएका छन्। बालबालिकाको आर्थिक अवस्था कमजोर भएकै कारण उनीहरूको शिक्षा अवरुद्ध नहोस् भन्ने उद्देश्यले सहयोगका लागि सम्बन्धित व्यक्ति तथा संस्थासँग समन्वय गर्दै आएको ऐरले बताए।

योगेश र विष्णुको शिक्षादीक्षा तथा खानपानमा सहजता होस् भन्ने उद्देश्यले पछिल्लो चार महिनादेखि निरन्तर मासिक सहयोग उपलब्ध गराइएको हो। सहयोगले विद्यालय जाने उमेरका बालबालिकालाई नियमित अध्ययनमा निरन्तरता दिन तथा दैनिक आवश्यकतामा केही सहजता पुर्‍याउने अपेक्षा गरिएको छ। यसै क्रममा युवा नेता ऐरले बालकहरू अध्ययनरत विद्यालय तथा उनीहरूको घरमा पुगेर भेटघाट तथा कुराकानी समेत गरेका छन्। उनले बालकहरूको अध्ययनको अवस्था, पारिवारिक परिस्थिति तथा आगामी आवश्यकताका विषयमा जानकारी लिएका थिए।

बालबालिकाको शिक्षा र संरक्षणका लागि सहयोग पुर्‍याउँदै आएको दातृ संस्था एसओएस बालग्रामका सम्पूर्ण सहयोगी तथा सम्बन्धित सबैप्रति ऐरले धन्यवाद तथा सम्मान व्यक्त गरेका छन्। उनले आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले आगामी दिनमा पनि यस्ता सहयोग तथा समन्वयलाई निरन्तरता दिने बताएका छन्।

बालकहरूको शिक्षामा सहयोग पुर्‍याउने अभियानमा सहकार्य गर्ने विद्यालय, संघसंस्था, सहयोगी व्यक्ति तथा एसओएस बालग्रामका सम्पूर्ण सहयोगीप्रति धन्यवाद व्यक्त गर्दै ऐरले योगेश र विष्णुको उज्ज्वल भविष्यको कामनासमेत गरेका छन्। आर्थिक अभाव, अभिभावकको मृत्यु वा पारिवारिक समस्याका कारण शिक्षाबाट वञ्चित हुने जोखिममा रहेका बालबालिकालाई समयमै पहिचान गरी विद्यालय, स्थानीय तह, सामाजिक संस्था तथा सहयोगी निकायको सहकार्यमा शिक्षाको अवसर सुनिश्चित गर्नुपर्ने आवश्यकता देखिएको छ।


Loading Viewer...

ताजा समाचार

spot_img