रेडियन्ट माध्यमिक विद्यालयमा इको क्लबद्वारा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न


कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरस्थित रेडियन्ट माध्यमिक विद्यालयमा इको क्लबको आयोजनामा अन्तर-कक्षा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धि गर्ने र अतिरिक्त क्रियाकलापमा सहभागी गराउने उद्देश्यले उक्त प्रतियोगिता सञ्चालन गरिएको हो। कुल ८ वटा टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा प्राञ्जल भट्ट, आयुष बिष्ट, समीक्षा भट्ट र सुजता बडालको टिमले प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

यसैगरी प्रशान्त बम, प्रयास भारती, सविता भण्डारी र देवराज पन्तको टिम द्वितीय भएको छ भने स्मृति भट्ट, मेघा थापा, मोहित पाण्डे र निशा रावलको टिमले तृतीय स्थान हासिल गरेको छ । प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप नगद पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गरिएको छ । जसअन्तर्गत प्रथम हुने टिमले रु. १,२००, द्वितीय हुने टिमले रु. १,००० र तृतीय स्थान हासिल गर्ने टिमले रु. ८०० नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन्।

विद्यार्थीहरूमा ज्ञानको विकासका साथै प्रतिस्पर्धात्मक भावना र नेतृत्व क्षमताको विकास गर्न यस्ता कार्यक्रमले ठुलो सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक सूर्य बहादुर चन्दले बताउनुभयो। इको क्लबले वातावरण सचेतनाका साथै विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि निरन्तर यस्ता सिर्जनात्मक कार्यक्रम आयोजना गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने प्रधानाध्यापक चन्दले जानकारी दिनुभयो ।


Loading Viewer...

ताजा समाचार

spot_img