राजेन्द्र प्नसाद पनेरु/झलारी ः शुक्लाफाँटा नगरपालिका–१० झलारी खल्ला बस्तीमा आर्थिक रूपमा अतिविपन्न मुक्त कमैंया परिवारका लागि निर्माण गरिएका १५ वटा सुरक्षित आवास हस्तान्तरण गरिएको छ । सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दमन भण्डारीले एक कार्यक्रमबीच घरधनीलाई आवासको प्रमाणपत्र र घरको चाबी हस्तान्तरण गर्नुभएको हो । आवास हस्तान्तरण गर्दै मन्त्री भण्डारीले सुरक्षित आवास निर्माण भएपछि आर्थिक रूपमा विपन्न परिवारले दरिलो आश्रय पाएको बताउनुभयो। निर्माण गरिएका भौतिक संरचनाको दीगो संरक्षणमा घरधनीले विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो।

विपन्न, भूमिहीन, दलित तथा पिछडिएका लक्षित वर्गका लागि सञ्चालन हुँदै आएका सुरक्षित आवास कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने मन्त्री भण्डारीले बताउनुभयो। आवाससँगै लक्षित परिवारको आर्थिक अवस्था सुधार गर्न आयआर्जनका कार्यक्रमलाई समेत प्राथमिकता दिनुपर्ने उहाँले जोड दिनुभयो। शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महराले छोटो अवधिमै आवासविहीन मुक्त कमैंया परिवारका लागि १५ वटा सुरक्षित आवास निर्माण गर्न सफल भएको बताउनुभयो। आवास निर्माणमा प्रदेश सरकार, नगरपालिका तथा विभिन्न दातृ निकायको सहयोग रहेको उहाँले जानकारी दिनुभयो।

नगर प्रमुख महराले आवास निर्माणसँगै विपन्न परिवारको आर्थिक अवस्थामा सुधार ल्याउन कृषि तथा पशुपालनसम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। शुक्लाफाँटा नगर क्षेत्रका अधिकांश परिवार कृषि तथा पशुपालनमा निर्भर रहेको उल्लेख गर्दै उहाँले कृषि र पशुपालन क्षेत्रको विकास नगरी स्थानीय स्तरमा समृद्धि हासिल गर्न नसकिने बताउनुभयो।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शंकर शाहले आवास मानव जीवनको आधारभूत आवश्यकता भएको बताउनुभयो। नेपालको संविधानले समेत नागरिकको आवासको हक सुनिश्चित गरेको उल्लेख गर्दै उहाँले सुरक्षित आवासलाई राज्यको दायित्वसँग जोडेर हेर्नुपर्ने बताउनुभयो।

सचिव शाहका अनुसार सुदूरपश्चिम प्रदेश सरकारले हालसम्म लक्षित वर्गका लागि २९१ वटा सुरक्षित आवास निर्माण गरिसकेको छ। अझै आवासविहीन रहेका १५ हजारभन्दा बढी परिवारका लागि आवास व्यवस्थापन गर्न प्रदेश सरकारले कार्यक्रम सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो। आवास सँगै विपन्न वर्गको आयस्तर वृद्धि गरी जीवनयापनमा सहजता ल्याउने उद्देश्यले विशेष कार्यक्रम सञ्चालन भइरहेको उहाँले बताउनुभयो। कृषि ज्ञान केन्द्र, पशु विज्ञ केन्द्र, स्थानीय तहलगायत सम्बन्धित कार्यालयसँग समन्वय गरी लक्षित परिवारले कृषि तथा पशुपालनसम्बन्धी कार्यक्रममा सहभागी हुनुपर्ने उहाँको आग्रह थियो।
शुक्लाफाँटा नगरपालिका–१० का वडा अध्यक्ष लालबहादुर ऐरले वडाका विपन्न दलित समुदायका परिवारका लागि गत वर्ष सिमलखेतमा ११ वटा र यस वर्ष खल्ला बस्तीमा १५ वटा सुरक्षित आवास निर्माण गरिएको बताउनुभयो। वडाका अधिकांश विपन्न परिवारका लागि आवासको व्यवस्था भइसकेको उल्लेख गर्दै उहाँले अब उनीहरूको जीविकोपार्जन र रोजगारीका लागि थप कार्यक्रम आवश्यक रहेको बताउनुभयो। “गाँस र कपासको व्यवस्थापनका लागि प्रदेश सरकारको सहयोग अपेक्षा गरेका छौँ,” वडा अध्यक्ष ऐरले भन्नुभयो। युवालाई स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्न विशेष कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
मुक्त हलिया, कमैंया, कम्लरी कार्यान्वयन समितिका सदस्य करन ताम्राकारले सुरक्षित आवास प्राप्त भएपछि वर्षौंदेखि असुरक्षित अवस्थामा बस्दै आएका मुक्त कमैंया परिवारलाई ठूलो राहत पुगेको बताउनुभयो। आवाससँगै रोजगारी, आयआर्जन र आत्मनिर्भर बनाउने कार्यक्रम सञ्चालन भएमा मात्रै मुक्त कमैंया परिवारको जीवनस्तरमा दीगो सुधार आउने उहाँको भनाइ थियो।
सुरक्षित आवास निर्माणमा विभिन्न निकाय तथा घरधनीको समेत योगदान रहेको छ। प्रत्येक आवास निर्माणका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ३ लाख ५० हजार रुपैयाँ, शुक्लाफाँटा नगरपालिकाले १ लाख ४५ हजार रुपैयाँ, ह्याविट्याट नेपाल र निड्स नेपालले १ लाख २० हजार रुपैयाँ तथा घरधनीले १ लाख ६२ हजार ४७९ रुपैयाँ बराबरको योगदान गरेका छन्। वर्षौंदेखि असुरक्षित तथा कमजोर संरचनामा बस्दै आएका मुक्त कमैंया परिवारले नयाँ सुरक्षित आवास पाएपछि परिवारको सुरक्षा र दैनिक जीवनमा सहजता आउने अपेक्षा गरिएको छ। सरोकारवालाले भने आवास हस्तान्तरणसँगै उनीहरूको आर्थिक आत्मनिर्भरता र रोजगारीका लागि कृषि, पशुपालन तथा सीपमूलक कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताएका छन्।










