कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिकाले गत आर्थिक वर्षमा संचालन गरेको बार्षिक कार्यक्रम बारे समिक्षा गरिरहेको छ । नगरपालिकाले गत आर्थिक बर्ष २०८२/०८३ मा सञ्चालन गरिएका स्वास्थ्य कार्यक्रमहरूको पालिका स्तरीय वार्षिक समीक्षा गर्न लागेको हो । नगरपालिकाले बुधबारदेखि दुई दिने समीक्षा गोष्ठी शुरु गरेको जनाएको छ ।
बेदकोट नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा समीक्षा कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा गत आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा भएका उपलब्धि, चुनौती तथा आगामी वर्षका प्राथमिकता र योजनाबारे विस्तृत समीक्षा भइरहेको स्वास्थ्य शाखा प्रमुख हरिशा पालले जानकारी दिइन् । उनका अनुसार युनाइटेड स्टेट्स अफ अमेरिका र ईपिसीको साझेदारी तथा सहयोगमा, बेदकोट नगरपालिकाले हाल १० वटै वडामा आधारभूत स्वास्थ्य सेवा नियमित रूपमा सञ्चालन गर्दै आएको छ । समीक्षा कार्यक्रममार्फत सेवा प्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय र नागरिकमैत्री बनाउने विषयमा समेत छलफल भइरहेको छ । कार्यक्रममा नगर उपप्रमुख तुलसी देवी जोशीले नगरपालिकाले सुत्केरी महिलाका लागि उपलब्ध गराउँदै आएको प्रोत्साहन रकमबारे जानकारी दिँदै संघीय सरकारबाट प्राप्त हुने १ हजार रुपैयाँमा स्थानीय सरकारबाट थप ८ सय रुपैयाँ उपलब्ध गराई कुल १ हजार ८ सय रुपैयाँ प्रदान गर्ने व्यवस्था रहेको बताइन् ।

त्यसैगरी सहभागीहरूले वडा नम्बर २, ४ र ८ का स्वास्थ्य संस्थामा खानेपानीको समस्या रहेको विषय उठाएपछि उपप्रमुख जोशीले उक्त समस्या तत्काल समाधानका लागि आवश्यक छलफल गरी उचित व्यवस्थापन गरिने प्रतिबद्धता व्यक्त गरिन् । पालिका स्तरीय वार्षिक समीक्षा कार्यक्रमको अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्ट रहेका थिए भने नगर प्रमुख भोजराज बोहरा प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा स्वास्थ्यकर्मी, वडा अध्यक्ष, जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।दुई दिनसम्म संचालन हुने समिक्षा कार्यक्रमबाट अगामी बर्षमा समेत थप सुधारोन्मुख गराउने जनाएको छ ।











