वाणिज्य संघद्वारा औद्योगिक क्षेत्र, महाकाली करिडोर र दैजी–जोगबुडा सडकलाई प्राथमिकता दिन आग्रह


महेन्द्रनगर : कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाली करिडोर र दैजी–जोगबुडा सडक स्तरोन्नति लगायतका पूर्वाधार विकासका कामलाई प्राथमिकता दिन प्रदेश सरकारसँग आग्रह गरेको छ ।

संघका अध्यक्ष दिनेश मल्लको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नवनियुक्त मुख्यमन्त्री खगराज भट्ट, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावल, आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्ल र भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाटसँग भेट गरी प्रदेशको आर्थिक विकाससँग सम्बन्धित विभिन्न विषयमा ध्यानाकर्षण गराएको हो ।

भेटका क्रममा अध्यक्ष मल्लले कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा उद्योग स्थापना तथा सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले कञ्चनपुरमा प्रस्तावित औद्योगिक क्षेत्रको निर्माण कार्य शीघ्र अघि बढाउन तथा उद्योगी व्यवसायीका समस्या समाधानका लागि प्रदेश सरकारले प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी महाकाली करिडोर निर्माणलाई गति दिन, दैजी–जोगबुडा सडक स्तरोन्नति गर्न तथा प्रदेशका सबै क्षेत्रमा सहज सडक पहुँच विस्तार गर्न अध्यक्ष मल्लले आग्रह गर्नुभयो । उहाँले महेन्द्रनगर स्थित विमानस्थल निर्माणको गर्नसमेत प्रदेश सरकारको ध्यानाकषर्ण गराउनुभयो । संघले उद्योगी व्यवसायीले भोग्दै आएका विभिन्न समस्या समाधान गरी लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा समेत जोड दिएको छ । निजी क्षेत्रको विकासबिना प्रदेशको आर्थिक समृद्धि सम्भव नहुने भएकाले सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको अध्यक्ष मल्लले बताउनुभयो ।

भेटका क्रममा मुख्यमन्त्री भट्टले उद्योगी व्यवसायी देशको आर्थिक मेरुदण्ड भएको बताउँदै संघले उठाएका विषय महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो । निजी क्षेत्रसँग सहकार्य र छलफल गरी आगामी बजेट निर्माण गर्ने बताउँदै उहाँले उद्योग तथा व्यवसाय क्षेत्रका समस्या समाधानमा सरकार सकारात्मक रहेको उल्लेख गर्नुभयो । मुख्यमन्त्री भट्टले कञ्चनपुर उद्योग वाणिज्य संघले आर्थिक समृद्धिका लागि गर्दै आएका गतिविधि प्रशंसनीय रहेको बताउनुभयो । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलको समेत उपस्थिति रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img