जिल्लाकै धनी स्थानीय भीमदत्त सरकार निजी स्रोतका शिक्षकमाथि श्रम शोषण गर्दै !


कञ्चनपुर: कञ्चनपुरको जेठो भीमदत्त नगरका सरकारी विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकहरुमाथि श्रम शोषण भएको छ । भीमदत्त नगरपालिका विभिन्न सामुदायिक विद्यालयका कार्यरत निजी स्रोतका शिक्षकहरुमाथि श्रम शोषण भएको हो । तीनै तहका सरकारलाई गिज्याउने गरेर भीमदत्त नगरका सामुदायिक विद्यालयमा बषौँदेखि शिक्षकमाथि श्रम शोषण भईरहेको शिक्षकहरुको पीडा छ । विद्यालयसंग स्रोत छैन, तर जिल्लाकै धनी स्थानीय सरकार भीमदत्त नगरले समेत यस्ता निमुखा शिक्षकको पीडा सम्बोधन गर्न सकेको छैन ।

श्रम ऐन ०७४ लाई टेकेर चालु आर्थिक बर्ष ०८३÷०८४ साउन १ देखि श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले न्यूनतम ज्याला १९ हजार ५ सय ५० रुपैया निर्धारण गरेको छ । तर, भीमदत्त नगरका निजी स्रोतका शिक्षकले श्रम ऐन, मन्त्रालयले तोकेको पारिश्रमिक पाएका छैनन । सरकारले सामुदायिक विद्यालयमा कार्यरत बाल विकास, राहत, अनुदान, अस्थायी, स्थायी प्रकृतिका शिक्षकहरुको मासिक तलब बृद्धि गरेपनि सरकारी विद्यालयमै कार्यरत निजी शिक्षकको तलब श्रम ऐनले छोएको छैन । बार्षिक ३६ करोड आन्तरिक आम्दानी प्रक्षेपण गरिएको भीमदत्त नगरपालिकाले न्यून संख्यामा रहेका निजी स्रोतका शिक्षकका शिक्षकको न्याय गर्न सकेको छैन ।

विभिन्न समयमा विद्यालयको आवश्यकता अनुरुप भर्ना गरिएका निजी स्रोतका शिक्षकलाई केही बर्षदेखि भीमदत्त नगरपालिकाले मासिक ७ हजार दिने निर्णय गरेको थियो । तर भीमदत्तले चालु आर्थिक बर्षमै अन्यन्त्र क्षेत्रमा थुप्रै स्रोत विनियोजन गरेको भएपनि निजी विद्यालयमा बषौँदेखि कार्यरत शिक्षकको न्यायका लागि पहल समेत गरिएको छैन । मंगलबार भीमदत्त नगरका विभिन्न सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकहरुले पारिश्रमिक बृद्धिको माग अघि सारेका छन । नगरका निजी स्रोतका शिक्षकले कम्तिमा भएपनि श्रम ऐन अनुरुप तलब बृद्धिको माग अघि सारेर पालिकामा निवेदन दिएका छन ।

बालजागृति आविमा कार्यरत लक्ष्मी ठगुन्ना, बैजनाथ आविमा कार्यरत मञ्जु कुँवर, नवदुर्गा आविमा कार्यरत मदन सुनार, झिलमिला आविमा कार्यरत बसन्ती भण्डारी, सरस्वती आविमा कार्यरत निर्मला भण्डारी, जेजिस माविमा कार्यरत कलावती विष्ट सहितका निजी शिक्षकले सामुहिक निवेदन दिएका छन । नवदुर्गा आधारभूत विद्यालय नयाँ तिकपुरमा निजी स्रोतका शिक्षक मदन सुनारले विद्यालयमा स्रोत नभएकाले पालिकाबाट उपलब्ध गराउँदै आएको मासिक ७ हजारमा काम गर्न बाध्य भएको बताए । उनले पटक पटक पालिका सरकारसग तलब बृद्धिको माग अघि सारेपनि बृद्धि नगरेको अहिले पनि मासिक सात हजार मात्रै कायम गरेको बताए ।

बाल जागृती आधारभूत विद्यालयका कार्यरत शिक्षिका लक्ष्मी ठगुन्नाले आफुहरुमाथि चरम शोषण भएको बताए । ‘हामीले निकै न्यूनतम रकममा काम गर्नुपर्छ बाध्यता छ, ‘उनले भने, ‘अहिलेको समय अनुरुप यो सात हजारले चिया खान पनि पुग्दैन ।’ उनले गरिब विद्यालय धनी पालिका, प्रदेश र केन्द्र सरकार भएपनि आफुहरुका पीडा उस्तै रहेको दुखेसो पोखिन् । भीमदत्त नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख हरिदत्त जोशीले निजी विद्यालयमा कार्यरत शिक्षकका माग कार्यपालिकामा पेश गरिने बताए । ‘हाम्रो शाखामा आएको निवेदनको आधारमा शिक्षा शाखाले कार्यपालिकामा पेश गर्छ, ‘उनले भने, ‘यस विषयमा सरकारले के केही निर्णय गर्ला ।’.

भीमदत्त नगरपालिका उपप्रमुख निलम लेखक जोशीले नगरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले विद्यालय र पालिका दुवै ठाँउबाट सुविधा पाउँदै आएको दावि गरिन । उनले आफुहरुले पालिका आएपछि मात्रै उक्त रकम पनि दिएको बताउँदै पैशा नहुँदा श्रम श्रेन अनुरुप पुरै तलब दिन नसकेको बताईन । ‘हामी आउने वित्तिकै उनीहरुलाई मासिक सात हजार दिएका छौँ, ‘उनले भनिन, ‘यो संघीय सरकारले काम हो, बाँकी तलब पनि संघीय सरकारले निजी स्रोतका शिक्षकलाई दिनुपर्छ ।’ कतिपय सत्ताधारी काँग्रेसकै स्थानीय नेता कार्यकर्ताहरुले निजी विद्यालयमा कार्यरत शिक्षकहरुलाई तलब दिए उनीहरुबाट कमिसन खान पनि नसकिने भएकाले त्यहाँ तलब दिनु भन्दा अन्यन्त्र डल्लो बजेट दिएर कमिनमा लिप्त हुने केही कर्मचारी, जनप्रतिनिधीका कारण सरकारी विद्यालयमै कार्यरत शिक्षकमाथि अन्याय भएको चर्चा गरिरहेका छन । अभिभावकदेखि सरोकारवालाहरुले जिल्लाकै धनी स्थानीय सरकारले निजी स्रोतका शिक्षकमाथि यस्तो श्रम शोषण गर्न नहुने तर्क अघि सारेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img