किसानका समस्या बोकेर संघीय कृषि मन्त्रालय पुगे रास्वपा बेलडाँडीका सभापति धामी


रमेश प्रसाद भट्ट /कञ्चनपुर — बेलडाँडी गाउँपालिकाका किसानले भोग्दै आएका कृषि तथा स्थानीय विकाससँग सम्बन्धित विभिन्न समस्या समाधानको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बेलडाँडीका सभापति तेज सिंह धामी संघीय कृषि तथा पशुपन्छी मन्त्रालय पुगेका छन्। मंगलबार सभापति धामीले कञ्चनपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य जनक सिंह धामीसहित कृषि तथा पशुपन्छीमन्त्री गीता चौधरीलाई भेटेर बेलडाँडी क्षेत्रका किसान तथा स्थानीयवासीले भोगिरहेका समस्या समेटिएको मागपत्र बुझाएका हुन्।

धामीका अनुसार मागपत्रमा किसानले भोग्दै आएको मलखादको समस्या, कालिकिच तालको प्रवर्द्धन तथा प्रवेशद्वार निर्माण, चौधर नदीको समस्या, आरक्ष र आवादीबीचको सीमांकन, वन्यजन्तुबाट हुने क्षति, ऐलानी जग्गाको समस्या, सिमसार क्षेत्रको संरक्षण तथा व्यवस्थापन, दैजी–बेलडाँडी सडकखण्डमा सुरक्षा व्यवस्थाको आवश्यकता लगायतका विषय समेटिएका छन्। त्यसैगरी किसानले उत्पादन गरेका कृषि उपजको उचित बजार व्यवस्थापन तथा लागतसम्बन्धी समस्या समाधान गर्नसमेत सरकारको ध्यानाकर्षण गराइएको धामीले बताए।

मन्त्री चौधरीले कृषि क्षेत्रमा स्थानीयस्तरमा देखिएका समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको धामीले जानकारी दिए। बेलडाँडीका किसानका समस्या समाधानका लागि मन्त्रालयस्तरबाट आवश्यक पहल गरिने आश्वासन पाएपछि आफूहरू थप उत्साहित भएको धामीले बताए। उनले स्थानीय जनताले भोगिरहेका समस्या सम्बन्धित मन्त्रालयसम्म पुर्‍याउने अभियानलाई निरन्तरता दिने जानकारीसमेत दिए। धामीका अनुसार आगामी दिनमा बेलडाँडी तथा कञ्चनपुरका जनताका अन्य समस्या लिएर विभिन्न संघीय मन्त्रालयमा पुग्ने कार्यक्रम रहेको छ।


Loading Viewer...

ताजा समाचार

spot_img