कञ्चनपुरमा भन्सार छलीका सामानसहित पाँच जना पक्राउ, ९ लाखका आईफोन बरामद


हेमा भट्ट/कञ्चनपुर – जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भन्सार छली गरी नेपाल भित्र्याइएका मोबाइल तथा विभिन्न सामानसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले जिल्लाका छुट्टाछुट्टै स्थानमा सञ्चालन गरेको चेकजाँचका क्रममा ठूलो परिमाणमा भन्सार छलीका सामान बरामद गरेको हो।

प्रहरीका अनुसार भदौ ८ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र अस्थायी प्रहरी पोष्ट मझगाउँबाट खटिएको संयुक्त टोलीले भीमदत्त नगरपालिका-१८ मझगाउँमा दोधारा चाँदनीबाट महेन्द्रनगरतर्फ आउँदै गरेको से ३ प ६३०७ नम्बरको मोटरसाइकललाई शंका लागेर चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा मोटरसाइकलमा सवार व्यक्तिहरूबाट भन्सार छली गरी ल्याइएका करिब ९ लाख १२ हजार ५ सय ९६ रुपैयाँ मूल्य बराबरका पाँच थान आईफोन बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद मोबाइलमा आईफोन-१५ एक थान, आईफोन-१६ एक थान र आईफोन-१७ तीन थान रहेका छन्। प्रहरीले मोटरसाइकल चालक दोधारा चाँदनी नगरपालिका-४ का ३७ वर्षीय पदमसिंह ठगुन्ना र पछाडि सवार सोही ठाउँका २६ वर्षीय गौतम जोशीलाई नियन्त्रणमा लिएको छ। उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।.

त्यसैगरी, इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका-६ भुराकोटबाट भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याइँदै गरेका विभिन्न सामानसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा बेलौरी नगरपालिका-४ का करिब २० वर्षीय कैलाश जोशी, भारत लखिमपुर कमलापुरका करिब ३२ वर्षीय शिवानन्द शर्मा र सोही स्थानका ३० वर्षीय वाहिद अली रहेका छन्।

उनीहरूको साथबाट करिब १३ लाख ९६ हजार २ सय रुपैयाँ मूल्य बराबरका २७ बोरा खर्भुजाको बिउ, चिनी, साइकललगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद सामान र नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय, कञ्चनपुर पठाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सह-प्रवक्ता प्रहरी निरीक्षक बिरेन्द्रसिंह थापाले सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार तथा भन्सार छली नियन्त्रणका लागि प्रहरीको निगरानी र कारबाहीलाई निरन्तरता दिइरहेको जानकारी दिनुभयो।

प्रहरीका अनुसार सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणका लागि नियमित गस्ती, चेकजाँच तथा शंकास्पद गतिविधिमाथि निगरानी बढाइएको छ। भन्सार छली गरी सामान ओसारपसार गर्ने कार्यले राज्यको राजस्वमा प्रत्यक्ष असर पार्ने भएकाले त्यस्ता गतिविधिविरुद्ध प्रहरी सक्रिय रहेको जनाएको छ। पछिल्लो बरामदगीले सीमावर्ती क्षेत्रमा हुने अवैध सामानको ओसारपसार नियन्त्रणमा प्रहरीको निगरानी बढेको देखाएको छ। प्रहरीले गैरकानुनी रूपमा भन्सार छली गरी सामान ल्याउने तथा अवैध ओसारपसारमा संलग्न नहुन सर्वसाधारणलाई समेत आग्रह गरेको छ।


Loading Viewer...

ताजा समाचार

spot_img