कञ्चनपुर : इन्टरनेश्नल पब्लिक स्कुलले आगामी भाद्र १० गतेदेखि फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगितामा १५ विद्यालयका १६ वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगितामा फ्लोरिडा इन्टरनेश्नल स्कुल, माधवी स्कुल, गुरुकुल, राष्ट्रिय माध्यमिक विद्यालय, बैजनाथ माध्यमिक विद्यालय, बैजनाथ जडेपानी, महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण), आदर्श, रेडियन्ट, एपेक्स गोदावरी, मोर्निङ ग्लोरी, महाकाली बहुउद्देश्यीय, लिटिल बुद्ध र आयोजक इन्टरनेश्नल पब्लिक स्कुलका दुई टिम सहभागी हुनेछन्।

प्रतियोगितामा सहभागी प्रत्येक टिमले ६ हजार रुपैयाँ प्रवेश शुल्क बुझाउनुपर्नेछ। प्रतियोगिताको प्रथम हुने टिमले ५० हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले ३५ हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

भाद्र १० गतेदेखि सुरु हुने प्रतियोगितामा प्रत्येक दिन चार खेल सञ्चालन हुनेछन्। खेलहरू नकआउट प्रणालीमा सञ्चालन गरिने विद्यालयका प्रशासनिक अधिकृत हेमन्तबहादुर सिंहले जानकारी दिए। यसैबीच, भाद्र १० गतेदेखि सञ्चालन हुने प्रतियोगिताको टाइसिट खेलमा सहभागी हुने विद्यालयका विद्यार्थी तथा शिक्षकहरूको उपस्थितिमा आज सार्वजनिक गरिएको छ।











