रेडियन्ट मा.वि. को पहिलो अभिभावक भेला सम्पन्न

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड


कंचनपुर : कंचनपुरको महेन्द्रनगर स्थित रेडियन्ट माध्यमिक विद्यालयको पहिलो अभिभावक भेला शनिबार सम्पन्न भएको छ। विद्यालयका सल्लाहकार समिति संयोजक धनराज विष्टको सभापतित्वमा उक्त भेला आयोजना गरिएको थियो। कार्यक्रममा सल्लाहकार समिति सदस्य डा. राजेन्द्र पन्त तथा सल्लाहकार समिति सदस्य प्रकाश बोकटीको विशिष्ट आतिथ्यता रहेको थियो। विद्यालय परिसरमा आयोजना गरिएको उक्त भेलामा करिब २०० भन्दा बढी अभिभावकहरूको सहभागिता रहेको थियो। कार्यक्रमलाई खुला सत्र र बन्द सत्र गरी दुई चरणमा विभाजन गरेर सञ्चालन गरिएको थियो। खुला सत्रमा विद्यार्थीहरूद्वारा विभिन्न आकर्षक सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएका थिए।

खुला सत्रमा विद्यालयका प्रिन्सिपल सुर्य बहादुर चन्दले विद्यालयको त्रैमासिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो। प्रतिवेदन प्रस्तुत गर्दै उहाँले विद्यालयले हासिल गरेका उपलब्धि, आगामी कार्ययोजना, अनुशासनको अवस्था तथा विद्यार्थीको समग्र शैक्षिक विकासबारे विस्तृत जानकारी गराउनुभयो। प्रिन्सिपल चन्दले विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणका लागि अभिभावकको भूमिका र रचनात्मक सुझाव अत्यन्तै महत्त्वपूर्ण हुने बताउँदै सम्पूर्ण अभिभावकहरूलाई निर्धक्क भई सल्लाह-सुझाव दिन आग्रह गर्नुभयो। कार्यक्रमका सभापति तथा सल्लाहकार समिति संयोजक धनराज विष्टले विद्यालयको सर्वाङ्गीण विकासका लागि शिक्षक, अभिभावक र विद्यार्थीबिचको त्रिकोणात्मक सम्बन्ध सुदृढ हुनुपर्नेमा जोड दिनुभयो।

उहाँले अभिभावकको नियमित सहभागिता र सुझावबाट नै गुणस्तरीय शिक्षा सम्भव हुने धारणा व्यक्त गर्नुभयो। यस्तै, दोस्रो चरणको बन्द सत्रमा शिक्षक तथा अभिभावकहरूबिच प्रत्यक्ष छलफल र अन्तरक्रिया भएको थियो। अन्तरक्रियामा अभिभावकहरूले आफ्ना बालबालिकाको पढाइ र विद्यालयको शैक्षिक अवस्थाका विषयमा विविध जिज्ञासा तथा सुझावहरू राखेका थिए। शिक्षिका माला भट्टले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा शिक्षक लोकेन्द्र भट्टले स्वागत मन्तव्य राख्नुभएको थियो।


Loading Viewer...

ताजा समाचार

spot_img