कञ्चनपुर : कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत पर्ने दुई नगरपालिका क्षेत्रमा ‘जनतासँग सांसद’ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र सिंह महता ले स्थानीय नागरिकका गुनासा, समस्या तथा विकाससम्बन्धी सुझाव प्रत्यक्ष रूपमा सुनेका छन्।

दोधारा–चाँदनी नगरपालिकाका १० वटै वडा तथा भीमदत्त नगरपालिकाअन्तर्गत क्षेत्र नं. ३ मा पर्ने २० वडाका नागरिकले कार्यक्रममा सहभागी भई विकास निर्माणसँग सम्बन्धित विषयका साथै आफ्ना व्यक्तिगत समस्या पनि सांसद महतासमक्ष राखेका थिए। कार्यक्रममा सडक, पुल, विद्युत, खानेपानी, वैदेशिक रोजगारीका क्रममा हुने ठगी, जग्गा विवाद लगायतका समस्या प्रमुख रूपमा उठाइएको थियो।

जनताका गुनासा सुनेपछि सांसद महताले सम्बन्धित निकायसँग समन्वय गरी समस्या समाधानका लागि छिट्टै पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। केही समस्याको भने उनले कार्यक्रमस्थलबाटै सम्बन्धित निकायका जिम्मेवार अधिकारीसँग टेलिफोन सम्पर्क गरी तत्काल समाधानका लागि पहल गरेका थिए। कार्यक्रममा सहभागी नागरिकहरूले आफ्ना समस्या मौखिक तथा लिखित दुवै माध्यमबाट सांसदसमक्ष पेस गरेका थिए।











