कञ्चनपुर-१ का सांसद धामी सहितकाे जिल्लाकाे उच्चस्तरीय टोलीद्वारा नदी कटानदेखि सीमा समस्या समाधानका लागि गर्याे स्थलगत अनुगमन


रमेश प्रसाद भट्ट/कञ्चनपुर : कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य जनक सिंह धामी नेतृत्वको जिल्ला स्तरिय उच्चस्तरीय टोलीले जिल्लाका नदी कटान प्रभावित क्षेत्र तथा बेलौरीस्थित छोटी भन्सार नाकाको स्थलगत अनुगमन गरेको छ। विहिबार प्रमुख जिल्ला अधिकारी मदन कोइराला, सुरक्षा निकायका प्रमुख, सम्बन्धित सरकारी कार्यालयका प्रतिनिधि तथा स्थानीय तहका जनप्रतिनिधि सहितको टोलीले बेलडाँडी गाउँपालिका, बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका र पुनर्वास नगरपालिका अन्तर्गतका चौधर नदी, दोदा नदी तथा अन्य जोखिम युक्त खोला–नालासहित बेलौरी छोटी भन्सार क्षेत्रको स्थलगत अनुगमन गरेको हो। अनुगमनका क्रममा नदी कटानका कारण बस्ती र खेतीयोग्य जमिनमा बढ्दो जोखिम, सीमावर्ती क्षेत्रमा सडक तथा पहुँचको अभाव, भन्सार नाकाको पूर्वाधार अवस्था र स्थानीय नागरिकले भोगिरहेका विविध समस्याबारे प्रत्यक्ष जानकारी लिइएको थियो। सांसद धामीले आफ्नो निर्वाचन क्षेत्रमा वर्षेनी नदी कटानबाट ठूलो क्षति हुने गरेको उल्लेख गर्दै दीर्घकालीन समाधानका लागि पर्याप्त बजेट विनियोजन गरी प्रभावकारी संरचना निर्माण गर्न आवश्यक रहेको बताए।

उनले भने, “मेरो निर्वाचन क्षेत्रभित्र रहेका नदी, खोला तथा बेलौरी छोटी भन्सार नाकाका समस्या पहिचान गर्न प्रमुख जिल्ला अधिकारी तथा सम्बन्धित निकायका प्रमुखहरूको उपस्थितिमा बेलौरी, बेलडाँडी, पुनर्वास र लालझाडीका विपद् जोखिमयुक्त स्थानहरूको स्थलगत अनुगमन गरेका छौँ।स्थलगत रूपमा देखिएका समस्याको समाधानका लागि सम्बन्धित निकायलाई आवश्यक पहल गर्न आग्रह गरेकाे छु।” उनका अनुसार नदी कटान नियन्त्रण, तटबन्ध निर्माण, भन्सार नाकासम्म सहज पहुँच विस्तार तथा सीमावर्ती क्षेत्रका नागरिकले लामो समयदेखि भोग्दै आएका समस्याको समाधानका लागि संघीय सरकारसँग आवश्यक समन्वय गरिने बताउनु भयाे । प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले अनुगमनका क्रममा देखिएका समस्यालाई प्राथमिकताका आधारमा समाधानतर्फ अघि बढाइने बताए। उनले नदी कटानका कारण बस्ती नै जोखिममा परेको, भन्सार क्षेत्रमा सडक पहुँच कमजोर रहेको तथा विभिन्न पूर्वाधार अभावका विषयमा सम्बन्धित निकायसँग समन्वय गरी प्रशासनिक तथा प्राविधिक रूपमा समाधान खोजिने जानकारी दिए।

उनले भने, “स्थलगत रूपमा देखिएका मुख्य समस्या नदी कटान, भन्सार नाकासम्मको सडक पहुँच र स्थानीय नागरिकका दैनिक जीवनसँग जोडिएका विषय हुन्। यी समस्याको समाधानका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी कार्य अघि बढाइनेछ।” अनुगमन टोलीले चारवटै स्थानीय तहका नागरिकसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै उनीहरूले भोगिरहेका समस्यासमेत सुनेको थियो। स्थानीयवासीले रासायनिक मलको अभाव, लागूऔषधको बढ्दो समस्या, सडक तथा पुल–पुलेसाको कमजोर अवस्था, सीमासम्बन्धी जटिलता, नदी कटान तथा विपद् व्यवस्थापनका विषयलाई प्रमुख रूपमा उठाएका थिए। स्थानीय नागरिकले सीमावर्ती क्षेत्रमा विकास पूर्वाधारको विस्तार, नदी नियन्त्रणका स्थायी योजना, कृषि उत्पादनका लागि समयमै मल उपलब्ध गराउने व्यवस्था तथा लागूऔषध नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका थिए।

अनुगमनमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक नेत्रमणि गिरी, सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण मुख्यालय शैलेश्वरी (हेक्वा) का प्रमुख प्रेमप्रकाश सिग्देल, राष्ट्रिय अनुसन्धान विभागका एसपी प्रकाश शाह, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय महेन्द्रनगरका इन्जिनियर उत्तमराज सुवेदी, महाकाली सिँचाइ व्यवस्थापन कार्यालयका सब–इन्जिनियर गोविन्द भट्ट, सम्बन्धित पालिकाका जनप्रतिनिधि तथा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो। स्थानीय समस्या पहिचान गरी सम्बन्धित निकायबीच समन्वयात्मक ढंगले समाधान खोज्ने उद्देश्यसहित गरिएको यस अनुगमनले नदी नियन्त्रण, सीमा व्यवस्थापन तथा स्थानीय पूर्वाधार विकासका विषयलाई थप प्राथमिकताका साथ अघि बढाउने अपेक्षा गरिएको छ।


Loading Viewer...

ताजा समाचार

spot_img